काठमाडौं । नेपाल टेलिकमले दशैँ, तिहार तथा छठलगायतका विभिन्न पर्वहरूको अवसरमा आफ्ना ग्राहकका लागि दशैँ अफर उपलब्ध गराएको छ । सो अफरअन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरू पाइनेछ ।
आइतबारदेखि सुरु भएको सो अफर आगामी कार्तिक २३ गतेसम्म उपलब्ध हुनेछन् । यस अफरअन्तर्गत साविकका एफटीटीएचका प्याकेजहरूमा साविककै मूल्यमा थप ब्यान्डविथ उपलब्ध गराइएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटा÷कम्बो प्याकेजहरूमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्याण्डविथ कायम गरिएको छ । यो अफर उल्लेखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवम् प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ । साथै, एफटीटीएच नयाँ जडानमा जडान शुल्क पाँच सय रुपैयाँ मिनाहा समेत गरिएको छ ।
यसैगरी दशैँ अफरअन्तर्गत नै जीएसएम सेवाका ग्राहकका लागि ७९९ रुपैयाँमा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र पाँच सय अल नेट एसएमएस सुविधासहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ । साथै, २५० रुपैयाँमा एक हजार मिनेट अल नेट भ्वाइस सुविधासहितको एक हजार मिनेट अल नेट भ्वाइस कल अफर र ९९ रुपैयाँमा एक हजार अन नेट एसएमएस सुविधाको एक हजार अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ ।