काठमाडौं । राजधानीमा दोस्रो जिल्लास्तरीय उद्योगी मेला र दशैँ महोत्सव २०८१ सुरु भएको छ । घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्तरूपमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा बुधबारदेखि सो मेला सुरु भएको हो ।
मेलाको शुभारम्भ गर्दै काठमाडौं जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका लघु घरेलु तथा साना उद्योगका उत्पादनहरूको बजारीकरण पनि महत्वपूर्ण पाटो भएको बताए । स्थानीयस्तरमा तालिम गरेर उद्यमशीलतामा लाग्नेहरूले तयार गरेका उत्पादनहरूको बजारीकरणमा चुनौती देखिएको भन्दै उनले उद्यमशीलतामा लाग्नेहरूलाई उत्पादनदेखि बजारीकरणमा पनि सघाउन स्थानीय निकायहरूको ध्यानाकर्षण गराए ।
मेलाका संयोजक जितेन्द्र कुमार श्रेष्ठले महानगरपालिकसँगको सहकार्यमा असोज १६ देखि २३ गतेसम्म काठमाडौं जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरूको प्रवर्द्धनको लागि प्रदर्शनी आयोजना गरिएको बताए । प्रदर्शनीमा लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता, अचार, छोप, फेल्ट, ढाका र अल्लो, जुम्ला र मुस्ताङका अर्गानिक उत्पादन, कस्मेटिक, गार्मेन्ट, हस्तकलाका उत्पादन, अर्गानिक फलफुल, चोयोको सामान, तयारी पोशाक, कृष्टलका गहना तथा सामग्री, ढाकाका कपडा, ओखलमा कुटेका च्युरा, अर्गानिक अचार र छोप, मखमलका जुत्तालगायतका उत्पादन, काष्ठकलाका सामग्री, प्लास्टिकबाट पुनःप्रयोगबाट बनाइएका कलात्मक वस्तु, बाँसको जराबाट बनाइएका कलात्मक वस्तुलगायतका ७० वटा स्टल रहेका छन् ।
घरेलु तथा साना उद्योग संघ काठमाडौंकी अध्यक्ष पद्म कुमारी कार्कीले घरेलु तथा साना उद्यमीद्वारा उत्पादन गरिएका वस्तुहरूलाई प्रवर्द्धनका साथै बजारीकरण गरी स्वदेशी उद्योगद्वारा उत्पादित वस्तुहरूको उपभोगमा वृद्धि गर्ने मेलाको उद्देश्य रहेको बताइन् । प्रदर्शनीमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी नागरिकहरूलाई अवलोकन गराई नेपाली उत्पादन तथा वस्तुहरूको ब्रान्डिङका साथै पहिचान गराउने उनले जानकारी दिइन् ।