काठमाडौं । दशैँ–तिहार बिदामा ‘लर्निङ उत्सव’ अभियान सञ्चालन गरिने भएको छ । कान्तिपुर इन्जिनियरिङ कलेजको केईसी इलेक्ट्रोनिक्स क्लबको नेतृत्वमा कम्प्युटर क्लब र देशभरका दर्जनभन्दा बढी क्लबहरूको सहकार्यमा सो अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ ।
यो कार्यक्रम घटस्थापनादेखि भाइटीकासम्म अर्थात् ३२ दिनसम्म सञ्चालन हुनेछ, जहाँ सहभागीहरूले ३० दिनसम्म लगातार आफ्नो सीप अभिवृद्धि गर्न काम गर्नुपर्नेछ । साथै, सिकेको कुरा सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ । कार्यक्रमले विद्यार्थीहरूलाई बिदाको समयमा केही समय छुट्याएर नयाँ र उपयोगी सीपहरू सिक्न प्रोत्साहित गर्नेछ । पाँच प्रमुख विधामा आधारित यो उत्सवमा इलेक्ट्रोनिक्स, क्लाउड कम्प्युटिङ, एआई र डाटा साइन्स, सफ्टवेयर डेभलपमेन्ट र साइबर सेक्युरिटी समावेश गरिएको छ । यो कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूको लामो बिदालाई थप फलदायी बनाउनु र उनीहरूलाई नयाँ सीप सिक्न प्रेरित गर्नु हो । केईसी इलेक्ट्रोनिक्स क्लबका अनुसार यस पहलले विद्यार्थीहरूको व्यक्तिगत र व्यावसायिक विकासमा सघाउ पुर्याउनेछ ।
३० दिनको चुनौती पूरा गर्ने सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ । साथै, उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई आकर्षक उपहार र पुरस्कार पनि दिइनेछ । कार्यक्रम घटस्थापनादेखि सुरु भए पनि इच्छुक सहभागीहरूले फारम १८ गतेसम्म भर्न सक्नेछन् । १८ गतेपछि सहभागी हुनेले भने ३० दिनको अवधिमा नियमितरूपमा सिकाइमा समय छुट्याउनुपर्नेछ ।