काठमाडौं । एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका विपत् प्रभावित परिवारलाई राहत प्याकेज वितरण गरेको छ । फाउन्डेसनले गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्याएका पाँच वटा वडा (वडा नं ४, ७, ८, १० र १३) का करिब दुई सय परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको हो ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काका अनुसार खाद्यान्न भान्सामा प्रयोग हुने भाडाकुडाहरू, हाइजिन किट, ब्ल्याङ्केट र म्याटलगायतका सामानहरू वितरण गरिएको थियो । गोदावरी नगरपालिका र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा एनसेलका कर्मचारीहरूले प्रभावित वडाहरूमा पुगेर पीडित परिवारका उपस्थित सदस्यहरूलाई राहत सामग्री हस्तान्तरण गरेका थिए । एनसेल फाउन्डेसन, कर्मयोग फाउन्डेसन र गोदावरी नगरपालिकाबीचको यो साझेदारीले यस चुनौतीपूर्ण समयमा बाढीपहिरो पीडितहरूका लागि ठूलो सहयोग सावित भएको कम्पनीको दाबी छ ।