मन्थली (रामेछाप) । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ प्र ०१–००५–ख ९५७९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापले काठमाडौँबाट मन्थलीहुँदै सिन्धुलीको सुनकोशी गाँउपालिकास्थित अमारे जाँदै गरेको बस ब्रेक फेल हुँदा दुर्घटना भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदिप कुमार सिंहले दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुली सुनकोसी गाँउपालिका–६ खहरे खोलाकी १७ वर्षे युवती युनिषा श्रेष्ठ रहेको जानकारी दिए । दुर्घटनाका अधिकांश घाइतेलाई सिन्धुली जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका श्रेष्ठलाई उपचारका लागि सिन्धुलीतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।