काठमाडौं, असार २३
अख्तियार दुरूपयोग अनुसनधान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनियर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीमाथि छानबिन गर्दा यादवको वैधभन्दा अवैध आय बढिरहेको पाइएको अख्तियारले सोमबार जारी विज्ञप्तिमा जनाइएको छ । आयोगका अनुसार यादव २०३६ मंसिर २ गते सुनसरी–मोरङ सिँचाइ विकास समितिमा ओभरसियर पदमा नियुक्ति भएको र २०७४ फागुन १६ गते अवकाश भएको उल्लेख छ । आयोगले जारी गरेको विज्ञप्तिअनुसार यादवले २०७४ फागुनसम्म दुर्गम तथा स्थानीय भत्ता, कृषि आय, कर्जालगायत एक करोड दुई लाख ७४ हजार ७ साय ३९ रुपैयाँ मात्र आम्दानी गरेका छन् ।
यादवले अवैध तरिकाले कमाएको धन श्रीमती राधाकुमारी, छोरी आँचलको नाममा समेत लगानी गरेको पाइएको अख्तियारको दाबी छ । आयोगको अनुसन्धानमा यादवको एक करोड ८५ लाख ११ हजार ७ सय २८ रुपैयाँ बराबरको आय अवैध रहेको छ । आयोगले आरोपी यादवको बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
यस्तै ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ को सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा उपभोक्ता समितिका अध्यक्ष मानबहादुर श्रेष्ठ, सचिव रमेश मोक्तान र कोषाध्यक्ष सानुमैया श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उनीहरूविरुद्ध १५ लाख ५७ हजार ९ सय ८२ रुपैयाँबराबरको भ्रष्टाचार गरेको आरोप लगाएको छ ।