काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले खेलका क्रममा कोही खेलाडी वा अफिसियललाई स्वास्थ्य समस्या देखिएमा निःशुल्क उपचारको व्यवस्था गरिएको बताएका छन् ।
साफ महिला च्याम्पियनसिप फाइनलको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई क्लोज क्याम्पस्थल पुगेर मन्त्री पौडेलले खेलाडीको स्वास्थ्य उपचारको जिम्मा मन्त्रालयले लिने निर्णय गरेको जानकारी दिए । ‘तपाईंहरू उच्च मनोबलका साथ खेल पस्कनुहोला,’ उनले भने, ‘स्वास्थ्य समस्या परेमा हामी साथमा छौं ।’ आइतबारको सेमिफाइनल खेलमा रोमाञ्चक र उत्कृष्ट प्रदर्शन गरेको भन्दै उनले फाइनलको लागि शुभकामना समेत दिए । यसअघि गरिएको व्यवस्थाअनुसार खेलपश्चात राष्ट्रिय टिमका सबै खेलाडीहरूको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण गरिने प्रतिबद्धता पनि उनले जनाए यसअघि नै मन्त्री पौडेल अध्यक्ष रहेको केन्द्रले राष्ट्रिय टिममा रहेका सबै खेलाडीको वार्षिक निःशुल्क स्वास्थ्य परीक्षण गराउने निर्णय गरिसकेको छ ।