वासिङ्टन । भर्खरै अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरी युक्रेनमा युद्ध नबढाउन आग्रह गरेको अमेरिकी मिडियाहरुले बताएका छन् ।
द वासिङ्टन पोस्टले आइतबार बताएअनुसार चुनावमा विजय हासिल गरेको केही दिनपछि ट्रम्पले बिहीबार फ्लोरिडाको मार–ए–लागो एस्टेटबाट पुटिनलाई फोन गरेका थिए । फोन वार्तामा ट्रम्पले पुटिनलाई युरोपमा अमेरिकाको ठूलो सैन्य उपस्थिति रहेको सम्झना गराएको दाबी द वासिङ्टन पोस्टले उल्लेख गरेको छ ।
ट्रम्पले ‘चाँडै युक्रेन युद्धको समाधान’ बारे थप कुराकानी गर्न चासो व्यक्त गरेको बताइएको छ । मस्कोस्थित क्रेमलिन प्यालेसले ट्रम्प र पुटीनबीच युक्रेन युद्धबारे फोनमा कुराकानी भएको भन्ने अमेरिकी मिडियामा आएको समचारको खण्डन गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री फेस्कोभले वासिङ्टन पोस्टमा प्रकाशित समाचार गलत सूचना मात्र भएको बताएका छन् ।