वासिङ्टन । यमनका हुथी विद्रोहीले सोमबार रातो सागरमा दुई अमेरिकी युद्धपोतलाई निशाना बनाएका छन् । यस अवधिमा, इरान समर्थित हुथी विद्रोहीहरूले युद्धपोतहरूमा धेरै मिसाइल र ड्रोन आक्रमण गरेका हुन् । अमेरिकी रक्षा मन्त्रालयले बुधबार यसको पुष्टि गरेको हो ।
रक्षा मन्त्रालयका प्रेस सेक्रेटरी पिट राइडरले युद्धपोतमा आक्रमण लाल सागरको बाब अल–मन्डेब खाडीबाट पार गर्ने क्रममा भएको बताए । मन्त्रालयले युएसएस स्टकडेल र यूएसएस स्प्रुन्समा भएको यो आक्रमणलाई असफल भएको बताएको छ । पिट राइडरले आक्रमणका लागि कम्तीमा आठवटा ड्रोन, पाँचवटा एन्टी–सिप ब्यालिस्टिक मिसाइल र तीनवटा एन्टी–सिप क्रुज मिसाइल प्रयोग गरिएको बताए ।
जरायलले अक्टोबर ७ देखि गाजामा आक्रमण गरिरहेको छ । जवाफमा, हुथी विद्रोहीहरूले समुद्रमा इजरायलका सहयोगीहरूको जहाजलाई निशाना बनाएका छन् । सीएनएनका अनुसार हालसम्म हुथी विद्रोहीले समुद्रमा रहेका एक सयभन्दा बढी जहाजमा आक्रमण गरिसकेका छन् । हालसम्म दुईवटा जहाज डुबेका छन् । जसमा चार जनाको मृत्यु भएको थियो ।