काठमाडौं । नेपालमा उत्पादन हुने झन्डै १७ प्रतिशत कफी विदेश निर्यात हुने गरेको पाइएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग बढिरहेको भए पनि मागअनुसारको उत्पादन नहुँदा निर्यात गर्न कठिन भएको छ ।
बोर्डका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा १४ करोड ९२ लाख बराबरको ८९ मेट्रिक टन कफी निर्यात भएको थियो । यस्तै आव २०७९/८० मा १३ करोड चार लाख बराबरको ७७ दशमलव ८६ मेट्रिक टन कफी निर्यात भएको थियो । निर्यातको तुलनाको कफी आयात भने अत्याधिक हुने गरेको छ । आव २०८०/८१ मा ४१ करोड ९८ लाख रुपैयाँ बराबरको चार सय ४३ मेट्रिक टन कफी आयात भएको थियो भने आव २०७९/०८० मा ३२ करोड ५८ लाख रुपैयाँ बराबरको चार सय ५० मेटन कफी आयात भएको थियो । बोर्डका कार्यकारी निर्देशक बेनु प्रसाद प्रसाईंका अनुसार नेपालमा कफी रोपनमा पनि वृद्धि हुँदै गएको छ । नेपालभर पाँच सय एक मेट्रिक टन ग्रिनविन कफी उत्पादन भएको छ भने छ सय ५४ हेक्टरमा नयाँ रोपण भएको छ ।
हालसम्मको तथ्यांकलाई हेर्ने हो भने चार हजार तीन सय नौ हेक्टरमा कफी खेती विस्तार भएको उनले बताए । नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रकोभन्दा बढी मूल्य प्राप्त गर्दै आएको उनले जानकारी दिए । नेपाली कफी निर्यात हुँदा सरदर प्रतिकेजी १६ अमेरिकी डलर प्राप्त गर्दै आएको छ । आयात मूल्यको तुलनामा झण्डै तीन गुणा बढी मूल्यमा नेपाली कफी निर्यात हुने गरेको छ । अन्तर्राष्ट्रिय कफी संगठनको विशेष सहयोगमा बोर्डले सञ्चालन गरेको निरीक्षणबाट पनि आन्तरिक बजारमा प्रत्येक वर्ष न्यूनतम दुई हजार दुई सय मेट्रिक टनभन्दा बढी कफी खपत भइरहेको पाइएको कार्यकारी निर्देशक प्रसाईंले जानकारी दिए । कफीको माग उच्च भए पनि आन्तरिक उत्पादनले एक महिना पनि धान्न नसक्ने उनले बताए ।
यस्तै, बोर्डले २० औँ राष्ट्रिय कफी दिवसको अवसरमा शनिबारदेखि लागू हुने गरी कफीको न्यूनतम सहमत मूल्य पनि निर्धारण गरेको छ । बोर्डका अनुसार फ्रेस चेरी कफी ग्रेड ‘ए’ को मूल्य प्रतिकेजी एक सय पाँच रुपैयाँ र ग्रेड ‘बी’ को मूल्य ९५ रुपैयाँ तोकिएको छ । यस्तै, पार्चमेन्ट कफी ग्रेड ‘ए’ को प्रतिकेजी पाँच सय ३५ रुपैयाँ र ग्रेड ‘बी’ को चार सय ८२ रुपैयाँ तथा ड्राइ चेरी कफी ग्रेड ‘ए’को प्रतिकेजी दुई सय ८० रुपैयाँ र ग्रेड ‘बी’ को दुई सय ४७ रुपैयाँ निर्धारण गरिएको छ । यस वर्षको कफी दिवसको नारा ‘नेपालको कफी अर्गानिक अरेविका, गुणस्तरीय उत्पादन वृद्धिमा हाम्रो प्रतिबद्धता’ भन्ने रहेको छ ।
नेपालमा विसं १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपण गरेपश्चात नेपालमा कफी खेती सुरूवात भएको मानिन्छ । तर पनि नेपाली कफी उद्योगले अपेक्षा र मागबमोजिमको उत्पादन परिमाणको न्यून अंशलाई पनि सम्बोधन गर्न सकेको छैन । कफी रोपण एवं क्षेत्र विस्तारलाई देशव्यापी बनाउन सके उत्पादन वृद्धि गर्दै आन्तरिक उपभोग तथा अन्तर्राष्ट्रिय निर्यात व्यापारमा नेपाली कफी स्थापित हुन सक्ने बोर्डले जनाएको छ । कफी क्षेत्रमा व्यापकरूपान्तरणको लागि ठूला व्यावसायिक फार्महरू स्थापनाका लागि लगानीकर्ताहरू भित्राउन आवश्यक रहेको बोर्डले उल्लेख गरेको छ ।
बोर्ड अध्यक्ष एवम कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली कफीको व्यावसायिक उत्पादनमा सार्वजनिक निजी क्षेत्रलाई थप लगानी गर्न आह्वान गरेका छन् । यस्तै, बोर्डले पनि न्यून स्रोत साधनका बाबजुत व्यावसायिक कफी उत्पादन बढाउन प्रमुखताका साथ विभिन्न कार्यक्रमहरूको सुरुवात गरेको जनाएको छ । यस्तै, बोर्डले मंसिर ७ गते काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी औपचारिकरूपमा राष्ट्रिय कफी दिवस मनाउने जनाएको छ । सो कार्यक्रममा कफी विकासका क्षेत्रमा क्रियाशील संस्था, उत्पादक किसान उद्यमी, जिल्ला कफी सहकारी संघ, प्रारम्भिक कफी सहकारी संस्थालाई विशेष सम्मान र पुरस्कृत गर्ने बोर्डले जनाएको छ ।
यस्तै, कार्यक्रममा नेपाली स्पेसियालटी कफीको स्टल सञ्चालन तथा प्रदर्शनी, विभिन्न थरीका कफीहरूको ब्रिबिङ तथा टेस्टिङ गर्ने गराउने, कफी सहकारी संघहरूबाट सञ्चालित कफीसम्बन्धी गतिविधिहरूको प्रदर्शनी गर्ने, नेपालको कफी क्षेत्रको वर्तमान अवस्था, नीतिगत व्यवस्था तथा आगामी कार्यदिशा विषयक प्रस्तुतीकरण एवं अन्तरक्रिया कार्यक्रम हुने जनाइएको छ ।