काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको २०औँ वार्षिकोत्सव समारोह विविध कार्यक्रमसहित भव्यरूपमा सम्पन्न भएको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा २० वर्षभन्दा बढी समयदेखि कार्यरत ११ जना कर्मचारीहरूलाई सुनको सिक्का तथा १० वर्षभन्दा बढी समयदेखि कार्य गर्ने ३४ जना कर्मचारीहरूलाई एक सय ग्राम चाँदीको सिक्कासहित सम्मान गरेको छ ।
कम्पनीले विगतमा पनि हरेक वर्ष आफ्नो वार्षिक उत्सव कार्यक्रममा १० वर्षभन्दा बढी समयदेखि कम्पनीमा सेवा प्रदान गर्ने कर्मचारीहरूलाई चाँदीको सिक्कासहित सम्मान प्रदान गर्दै आइरहेको छ । कम्पनीले आफ्नो २० वर्षको समयमा विभिन्न ऐतिहासिक सफलता हासिल गरेको छ । जसमा नेपाली निर्जीवन बीमा क्षेत्रमा एक सय करोडदेखि पाँच सय करोडभन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी बन्न सफल भएको छ ।
बीमा शुल्क रकममा करिब १४ प्रतिशतको बजार हिस्सा शिखर इन्स्योरेन्सले ओगटेको छ । यस अवधिमा कम्पनीले २० अर्ब रुपैयाँभन्दा बढीको दाबी भुक्तानी गरेको छ । कम्पनीले विभिन्न विपद् आएको समयमा पनि दाबी भुक्तानीमा अग्रसर रहँदै आएको छ । साथै, २० वर्षको अवधिमा एक लाखभन्दा बढी दावी भुक्तानी दिएको छ ।
साथै, कम्पनीले २० वर्षको समयमा आफ्ना सेयरधनीहरूलाई दुई सय ९५ प्रतिशतको लाभांश प्रदान गरेको इतिहास छ । मर्जरविना दुई अर्ब ५० करोडको चुक्ता पुँजी पु¥याउने पहिलो बीमा कम्पनी पनि शिखर इन्स्योरेन्स बनेको छ । बीमा क्षेत्रमा एक सयभन्दा बढी शाखा सञ्जाल विस्तार गर्ने र छ सयभन्दा अधिकारी मानव संसाधन विकास गर्ने पहिलो बीमा कम्पनी समेत बनेको छ ।
शिखर इन्स्योरेन्स २० वर्षको समयमा छ पटकसम्म नेपालको बेस्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी तथा बेस्ट इन्स्योरेन्स कम्पनीका रूपमा सम्मानित भएको छ । त्यस्तै, मानव संसाधनको विकासका लागि कर्पोरेट एक्सेलेन्स अवार्डबाट सम्मानित, बीमा क्षेत्रमा सबैभन्दा बढी कर भुक्तानी गरेकाले आन्तरिक राजस्व विभागबाट सम्मानित, कृषि तथा बाली बीमाको बीमा दाबी भुक्तानीका लागि नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीका रूपमा सम्मानित र नेपाल पुनर्बीमा कम्पनीबाट सबैभन्दा बढी नाफामूलक पुनर्बीमा गरेकोमा सम्मानित भएको छ ।