महेन्द्र शाही
सोलुखुम्बु, असार २६
हिमाली जिल्ला सोलुखुम्बुमा सरकारवादी फौजदारी मुद्दाको चाप बढेको भएको छ । लकडाउनमा अन्य जिल्लाको तुलनामा सोलुखुम्बुमा सरकारवादी फौजदारी मुद्दाको चाप बढी देखिएको हो । चैत ११ गतेदेखि हालसम्म ओखलढुंगा र खोटाङको तुलनामा सोलुखुम्बुमा मुद्दाको चाप बढी देखिएको छ । करिब साढे तीन महिनाभित्र ओखलढुंगामा १० र खोटाङमा १९ वटा मुद्दा दर्ता हुँदा सोलुखुम्बुमा २५ वटा मुद्दा दर्ता भएका छन् ।
लकडाउनपछि सोलुखुम्बु जिल्ला अदालतमा दर्ता भएका सरकारी फौजदारी मुद्दामध्ये सबैभन्दा बढी जबरजस्ती करणीको छवटा मुद्दा रहेको स्रेस्तेदार मोहन घिमिरेले जानकारी दिए । यता खोटाङमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै कर्तव्य ज्यानसम्बन्धी छवटा रहेकोे जिल्ला अदालतका मुद्दा दर्ता शाखाका कर्मचारी मनोज खतिवडाले जानकारी दिए । त्यस्तै ओखलढुंगामा यो अवधिमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी चारवटा जबर्जस्ती करणीको मुद्दा रहेको अदालतका नायब सुब्बा शान्त कुमार बस्नेतले बताए ।
लकडाउन सुरु भएसँगै सरकारवादी फौजदारी मुद्दाबाहेक अन्य मुद्दा नलिने सर्वोच्चले निर्णय गरेको थियो । लकडाउनमा पहाडी जिल्लालगायत तराईका जिल्लाहरुमा समेत सरकारवादी फौजदारी मुद्दाहरु घट्दो क्रममा रहे पनि सोलुखुम्बुमा भने बढ्दो क्रममा रहेको जिल्ला न्यायाधीश महेन्द्रराज काफ्लेले बताए । छिमेकी जिल्ला ओखलढुंगा, खोटाङमा लकडाउनमा मुद्दा दर्ता हुने क्रम घटिरहँदा सोलुखुम्बुमा भने मुद्दाको अत्याधिक बढेको उनको भनाइ छ । लकडाउनको समयमा मादक पर्दाथको प्रयोग अत्यधिक हुनु, व्यक्तिहरु बढी फुर्सदिलो हुनुलगायतका कारणहरुले घटना बढेको हुनसक्ने उनको अनुमान छ ।