महेन्द्र शाही
सोलुखुम्बु, असार २८
खोटाङको ऐँसेलुखर्कमा वितरण गरिएको ल्यान्डलाइन टेलिफान सेवा समयमा नै मर्मत नहुनुमा आवश्यक समन्वयको अभाव देखिएको छ । फागुनदेखि अवरुद्ध भएको टेलिफोन सेवा सम्बन्धित पक्षको समन्वय अभावले मर्मतमा ढिलाइ हुनपुगेको देखिएको हो ।
फागुनमा चट्याङ लागेर बिग्रेको ल्यान्डलाइन टेलिफोन अहिलेसम्म पनि मर्मत नहुँदा स्थानीयले भने सास्ती भोगिरहेका छन् । तर जिम्मेवार निकायले भने एक अर्कालाई देखाएर पन्छिन खोजेको पाइएको हो । नेपाल टेलिकम खोटाङले जनशक्ति अभाव भएको भन्दै ओलखढुङ्गाले हेर्नुपर्ने बताएको छ । खोटाङका प्रमुख खगेन्द्र बलमपाखीले आफूसँग जनशक्ति अभाव भएकाले मर्मत गर्न नसकिएको बताए ।
जनशक्ति नभएकाले यस विषयमा ओखलढुङ्गासँग कुरा गर्न उनले आग्रह गरे । तर ओखलढुङ्गाका प्रमुख बुच्चुराज खतिवडाले भने गाउँपालिकाको असहयोगले मर्मतमा ढिलाइ भएको बताए । लकडाउनका कारण पनि केही समय लागेको र स्थानीय तहले पनि सहयोग नगरेको उनको भनाइ छ । टेलिकमका प्राविधिक गाउँ जाँदा स्थानीयले फर्काउने गरेकाले पनि ढिलाइ भएको उनको भनाइ छ । आफ्ना कर्मचारी ५–६ पटक सम्बन्धित स्थानमा पुगे पनि स्थानीयले अवरोध गरेको उनको भनाइ छ । उनले आफूहरुले टेलिफोनको महशुल मिनाह गरिसकेको बताए ।
लकडाउनको समयमा बिग्रिएको सामान ल्याउन समेत नसकिएको उनको भनाइ छ । साथै अहिले ऐँसेलुखर्कमा केन्द्रीय प्रसारणलाइन जोड्ने काम भइरहेको र सो पोलमा विद्युत् प्राधिकरणबाट अनुमति लिएको भए पनि स्थानीयले तार टांग्न नदिएको खतिवडाले बताए । आफूहरु जतिसक्दो चाँडो समस्या समाधानतर्फ लागेको उनको भनाइ छ ।
यता गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले भने खोटाङ तथा ओखलढुङ्गाबाट आउने कर्मचारीले आफूसँग समन्वय नगरेको बताए । कोरोनाको त्रासमा रहेकाले स्थानीयले बाहिरको व्यक्तिलाई गाउँ प्रवेश गर्न नदिएको हुनसक्ने भन्दै महामारीको समयमा समन्वय गरी आउनुपर्ने उनले तर्क गरे । स्थानीय सरकारसँग समन्वय गर्दा सहज हुने र आफू आफ्ना जनतालाई बुझाउनका लागि तयार रहेको निरौलाको भनाइ छ । टेलिकमका कर्मचारीले समन्वय भएन भनेर झूटो बोलेको उनले आरोप लगाए ।
विद्युत्को पोलमा तार राख्न नदिएको विषयमा भने अध्यक्ष निरौलाले टेलिफोनको तार गरौँ हुने भएकाले भर्खरै गाडेको पोलमा असर गर्ने भएकाले कामदारले त्यसो भनेको हुनसक्ने बताए । आफूहरुले त्यसमा कुनै पनि अवरोध नभएकाले पालिकासँग समन्वय गरी आउन पनि उनले अनुरोध गरे ।