काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशिक कार्यालय बुटवल र शाखा कार्यालय बुटवल खस्यौलीको नवनिर्मित भवन शनिबार उद्घाटन गर्दै उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई एक नम्बर बैंक बनाउने गरी कार्य गर्नुपर्ने बताएका छन् । मन्त्री पौडेलले बदलिँदो समयसँगै सबै कुरालाई रुपान्तरण गरी अग्रणी बैंक बनाउनुपर्नेमा जोड दिएका हुन ।
सेवा विस्तारमा सक्रियताका साथ लागेको वाणिज्य बैंकले सेवा सुधारका विषयमा पनि आफूलाई केन्द्रित गरेर सेवाग्राहीको बढी रुचाइएको बैंक बनाउन उनले आग्रह गरे । उनले सरकारको पूर्ण स्वामित्वमा रहेको वाणिज्य बैंकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरुलाई समयसापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महसुशस गर्नेगरी कार्य गर्न बैंक व्यवस्थापनलाई अनुरोध गरे ।
कार्यक्रममा नेपालको माटो सुहाउँदो सेवा र सुविधाहरु प्रदान गर्न आफूहरु प्रतिबद्ध रहेको राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले बताए । उनले सहज, छिटोछरितो र सेवाग्राही केन्द्रित सेवा प्रवाहमा आफूहरु सदैव सजग रहेको स्मरण गराउँदै आगामी दिनमा बैंकका हरेक गतिविधिलाई सूचना प्रविधिसँग जोड्दै लैजाने दाबी गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले वित्तीय साक्षरता, समाजिक समुदायिक कार्यलाई जोड दिँदै नागरिकसँग वाणिज्य बैंकको सम्बन्ध थप सुमधुर बनाउन काम गरिरहेको बताए । उनले बैंकले उत्पादनलाई जोड दिँदै कृषि, पर्यटन, उर्जा, साना उद्यम एवम् पूर्वाधार क्षेत्रमा लगानी बढाएको बताए ।