काठमाडौं । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रूपमा सञ्चालित लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा यही कात्तिक १६ गते आइतबार लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सम्पन्न गरेको छ ।
आव २०८०/८१ मा लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल एक आपसमा गाभिई २०८० पौष २३ गतेबाट संयुक्त कारोबारको थालनी गरिएको र दुई कम्पनीको मर्जरपश्चात कम्पनीको चुक्ता पुँजी ४८ करोड ८९ लाख रुपैयाँ रहेको छ ।
वार्षिक साधारणसभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरूमा आव २०८०/८१ को वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणसम्बन्धी प्रस्ताव पारित गरियो र आव २०८१/८२ को लेखापरीक्षण कार्य सम्पन्न गर्न लेखा परीक्षक नियुक्ति गर्ने सम्बन्धमा निर्णय गरियो । साथै, मर्जरपश्चात आव २०८०/८१ को एकीकृत वासलातबमोजिम प्रतिसेयर आम्दानी १९ दशमलव ६० प्रतिशत रहेकोमा वितरणयोग्य आम्दानी १७ दशमलव ८९ प्रतिशतमध्येबाट आफ्ना सेयरधनीहरूलाई १५ दशमलव ७९ प्रतिशत अर्थात् सात करोड ७१ लाख ९४ हजार सात सय ३६ रुपैयाँ ( १५ प्रतिशत करबाहेक) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित भएको छ ।
तीन दशकभन्दा अधिक समयदेखि मर्चेन्ट बैंकिङ सेवामा सक्रियताका साथ संलग्न रहेको यस कम्पनीले हालसम्म सबैभन्दा बढी संस्थाहरूको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य सम्पन्न गरेको छ । हाल २० वटा कम्पनीहरूको सेयर निष्काशनको क्रममा रहेको छ । कम्पनीले करिब दुई सय ५० जना ग्राहकहरूको ७० करोडभन्दा बढी रकमको पोर्टफोलियो व्यवस्थापन गर्दै आइरहेकोे छ र कम्पनीले करिब तीन दशमलव ५० लाख निक्षेप सदस्यहरूको डिम्याट खाता खोल्न सफल भएको छ ।
कम्पनीले करिब सात अर्ब बराबरको छ वटा बन्दमुखी म्युचुअल फन्ड र एउटा खुलामुखी म्युचुअल फन्ड सञ्चालन गर्दै आइरहेकोमा गत जेठ २८ मा एक अर्ब २५ करोड रकम बराबरको सात वर्ष अवधिको लक्ष्मी इक्विटी फन्ड परिपक्व भई सात वर्षको अवधिमा इकाईधनीहरूलाई जम्मा ६३ दशमलव ६५ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको र परिपक्व भएपश्चात सोका इकाईधनीहरूलाई ११ रुपैयाँ १४ पैसाप्रति इकाईका दरले रकम फिर्ता भुक्तानी गरिएको । बाँकी पाँच वटा योजनाले आव २०८०/८१ को मुनाफाबाट चार दशमलव ५० देखि १२ दशमलव ५० प्रतिशत प्रतिफल वितरण गरेको छ ।