काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सको ३१ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । तीन दशकभन्दा लामो इतिहास बोकेको कम्पनीले नेपालको निर्जीवन बीमा क्षेत्रलाई आधुनिक बनाउँदै उत्कृष्ट सेवा प्रवाह गर्दै आएको छ ।
हिमालयन एभरेस्ट इन्स्योरेन्स नेपालको बीमा क्षेत्रको विकासमा महत्वपूर्ण खम्बाको रूपमा रहेको छ । समयसँगै हिमालयन एभरेस्ट इन्स्योरेन्सले बीमाको दायरा फराकिलो बनाउँदै, जोखिम व्यवस्थापनको क्षमता विस्तार गर्दै र ग्राहक सेवामा नवीनता थप्न सफल भएको छ । कम्पनीले व्यक्तिगत, कर्पोरेट तथा कृषि बीमा उपलब्ध गराउँदै आएको छ । व्यक्तिगत बीमाअन्तर्गत सवारी साधन बीमा, व्यक्तिगत दुर्घटना बीमा र यात्रा बीमा रहेका छन् भने कर्पोरेट बीमाअन्तर्गत भवन बीमा, उद्योग, सामुन्द्रिक, हवाई र इन्जिनियरिङ बीमा सेवा समावेश छन् । त्यसैगरी कृषि बीमाअन्तर्गत गाईवस्तु र बाली बीमा रहेका छन् । कम्पनीले डिजिटल माध्यमबाट बीमाको दाबी सजिलै गर्न मिल्ने ‘स्मार्ट क्लेम’ सेवा पनि उपलब्ध गराएको छ ।
कम्पनीले हालै सिँगापुरमा आयोजित ‘इन्स्योरेन्स एसिया अवार्ड २०२४’ मा ‘डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र स्ट्राटेजिक पार्टनरसिप अफ द इयर–नेपाल’ गरी दुई प्रतिष्ठित अवार्डहरू जित्न सफल भएको थियो । कम्पनीको वार्षिकोत्सवको अवसरमा आफ्नो विचार व्यक्त गर्दै प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले भनिन्, ‘हिमालयन एभरेस्ट इन्स्योरेन्सले तीन दशकको यात्रामा नवीनता, पारदर्शिता र ग्राहक केन्द्रित सेवामा ध्यान दिँदै आएको छ । हाम्रो उद्देश्य ग्राहकहरूलाई छिटो र विश्वसनीय सेवा प्रदान गर्दै नेपालको अर्थतन्त्र र पूर्वाधारको विकासमा योगदान पुर्याउनु हो । यो अवसरमा हामी सबै ग्राहक, कर्मचारी र साझेदारहरूलाई धन्यवाद दिन चाहन्छौँ जसको योगदानले हामी ३१औँ वर्ष पूरा गर्न सफल भएका छौँ ।’
त्यसैगरी कम्पनीका फाउन्डिङ एमडी एवम् अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले पनि यस अवसरमा आफ्नो विचार राख्दै भने, ‘यस ३१ वर्षको यो महत्वपूर्ण उपलब्धि केवल समयको उत्सव मात्र नभई हिमालयन एभरेस्ट इन्स्योरेन्स परिवारको अथक मेहनत र समर्पणको प्रमाण हो, हाम्रा ग्राहकको हामीमाथिको विश्वास र सम्पूर्ण साझेदारहरूको समर्थनको प्रमाण हो । अब भविष्यतर्फअघि बढ्दै गर्दा हाम्रो ध्यान ग्राहकहरूलाई थप मूल्य प्रदान गर्ने, प्रविधिगत क्षमताहरूलाई सुदृढ गर्ने र नेपालको आर्थिक तथा सामाजिक विकासमा अर्थपूर्ण योगदान पु¥याउनमा केन्द्रित रहनेछ । हामी व्यक्ति तथा व्यवसायहरूलाई सशक्त बनाउनका लागि आत्मविश्वास प्रदान गर्ने हाम्रो लक्ष्यलाई निरन्तर कायम राख्ने प्रतिबद्धतामा दृढ छौँ ।’ हिमालयन एभरेस्ट इन्स्योरेन्सले आगामी वर्षहरूमा थप नयाँ प्रविधिले बीमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने योजना बनाएको छ ।