गण्डकी । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा बुधबार पोखरामा आयोजित भेटघाट कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा लक्षित कायक्रम सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
मन्त्री चौधरीले देशका सातवटै प्रदेशमा युवालक्षित कार्यक्रम सञ्चालन गर्ने तयारीमा सरकार लागेको बताए । साना–साना रोजगारी सिर्जनाका लागि युवालाई ऋण सहयोग गर्ने जस्ता कार्यक्रम अघि सारिएको उल्लेख गर्दै उनले त्यसबाट अधिकतम युवा लाभान्वित हुनसक्ने विश्वास व्यक्त गरे ।
मन्त्री चौधरीले पोखरामा खेलप्रेमीको उत्साह देखिएको उल्लेख गर्दै यहाँको पूर्वाधार विकासलगायतमा सक्दो सहयोग गर्ने आश्वासन दिए । उपनिर्वाचनमा देखिएको नतिजा कांग्रेसका लागि सन्तोषजनक रहेको भन्दै उनले एकताबद्ध रुपमा पार्टी सङ्गठनलाई क्रियाशिल बनाउनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समिति प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका प्रदेश तथा जिल्लास्तरका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।