काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वको प्रतिष्ठित बैंक अफ द इयर २०२४ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ । संयुक्त अधिराज्य (युके) अवस्थित द फाइनान्सियल टाइम्सले डिसेम्बर ४, मा आयोजना गरेको एक कार्यक्रमका बीच सिटिजन्स बैंकलाई बैंक अफ द इयर २०२४ को अवार्ड प्रदान गरेको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकको प्रतिनिधित्व गर्दै बैंक अफ द इयर २०२४ को सम्मान ग्रहण गरेका छन् । समारोहमा करिब एक सयभन्दा बढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृतलगायतका अधिकारीहरू गरी करिब तीन सय जनाभन्दा बढीको बाक्लो उपस्थिति रहेको थियो । बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डेले बैंकिङ क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वको प्रतिष्ठित बैंक अफ द इयर २०२४ को अवार्ड बैंकले प्राप्त गर्न सफल भएकोमा अत्यन्त गौरवान्वित महसुस गरेको र यसबाट आगामी दिनमा अझ उत्कृष्ट प्रविधिमैत्री आधुनिक बैंकिङ सेवा सुविधा ग्राहकमाझ ल्याउनको लागि हौसला मिलेको बताए । त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यस अवार्डको प्राप्ति सम्पूर्ण सरोकारवाला निकायको सहयोग एवं कर्मचारीको अहोरात्र मेहनतबाट सम्भव भएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट कार्यसहित सुशासन र प्रुडेन्ट बैंकिङ र हरित बैंकिङका सेवा सुविधाहरूमा थप बल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
द फाइनान्सियल टाइम्सले वार्षिकरूपमा विभिन्न देशका बैंकहरूले गर्ने कार्यसम्पादन एवं गतिविधिलाई मध्यनजर गर्दै बैंक अफ द इयरबाट सम्मानित गर्ने गरेको छ र यसै अनुरूप वर्ष २०२४ को अवार्ड सिटिजन्स बैंकले प्राप्त गर्न सफल भएको छ । यस अवार्डबाट सम्मानित हुने बैंकहरूको वार्षिक सूची द फाइनान्सियल टाइम्सको म्यागजिन द बैंकरमार्फत प्रकाशित हुने गरेको छ ।
बैंकले हालै मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स भच्र्युअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । भौतिक कार्डविना नै मोबाइलको माध्यमबाट स्क्यान गरी क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता भच्र्युअल क्रेडिट कार्डमा रहेको छ । बैंकले देशैभर ६० जिल्लामा फैलिएका आफ्ना एक सय ९७ वटा शाखा, एक सय ६२ वटा ए.टि.एम., तीन वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।