काठमाडौं । एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैङ्गिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘ओरेन्ज द स्कुल’ अभियान सञ्चालन गरेका छन् ।
यो अभियान लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान र ग्लोबल जोन्टा ‘सेज नो’ अभियानअन्तर्गत आयोजना गरिएको कार्यक्रम रहेको जनाइएको छ । अभियानअन्तर्गत हालसम्म १० विद्यालयमा करिब एक हजार पाँच सय जना विद्यार्थीहरूलाई प्रत्यक्षरूपमा सहभागी गराएको छ । यस कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थी र शिक्षकहरूलाई लैङ्गिक हिंसा, बालविवाह, साइबर बुलिङ, साइबर सुरक्षा तथा डेटा प्राइभेसीजस्ता जान्नैपर्ने विषयहरूमा जानकारी दिने र सुरक्षित तथा समान वातावरणको प्रवद्र्धन गर्न कदम चाल्नुको महत्वबारे सचेतना जगाउने रहेको छ ।
जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष बिना रानाले गरिबी, भेदभाव र जलवायु परिवर्तनजस्ता कारणहरूले महिला र केटीहरूलाई जोखिम बढाउने गरेको बताइन् । ‘ओरेन्ज द स्कुल’ अभियानले विद्यालयमा यी मुद्दाहरूबारे चेतना जगाउने र सामूहिक प्रयासबाट सुरक्षित समुदाय निर्माण गर्न प्रेरणा दिने उद्देश्य राखेको उनको भनाइ छ । एनसलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले यस अभियानले लैङ्गिक हिंसाविरुद्धको विद्यालयस्तरमै सचेतना र छलफलको महत्वलाई उजागर गर्न मद्दत पुर्याएको बताइन् । युवा पुस्तामा सुरुवातमै सही जानकारी र समानताका मूल्यहरू स्थापित गर्न सकेमा हिंसामुक्त समाज निर्माण गर्न सकिने उनको भनाइ छ । अहिलेको बदलिँदो अवस्था र प्रविधिको पहुँचले गर्दा भल्नरेबल सेगमेन्टमा पर्न जाने नकारात्मक असरको न्यूनीकरणका लागि साइबर सुरक्षा र डेटा प्राइभेसीजस्ता अत्यन्त आवश्यक विषयलाई विद्यार्थीहरू माझ लानका लागि कम्पनी यस अभियानको हिस्सा बनेको उनले बताइन् ।
यस अभियानको दौरान बालविवाह, साइबर सुरक्षा र घरेलु हिंसाबारे छलफल, भिडियो प्रदर्शन र अन्तरक्रियात्मक सत्रहरू विद्यालयहरूमा सञ्चालन भइरहेका छन् । यसले विद्यार्थी र शिक्षकहरूलाई यी विषयमा बुझाइ र वकालत गर्न सक्षम बनाउने प्रयास गरेको छ । जोन्टा क्लब अफ काठमाडौंको महिला हिंसाविरुद्धको समितिकी अध्यक्ष श्रीयुक्ता थपलियाले अभियानले महिला तथा बालबालिकाले सुरक्षित वातावरणमा जीवन बिताउन सक्ने भविष्य निर्माण गर्न मद्दत पुर्याउने बताइन् । २६ नोभेम्बरदेखि १० डिसेम्बरसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत काठमाडौं उपत्यकाका सरकारी तथा निजी विद्यालयहरूमा जनसचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।