काठमाडौ । आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागबीच आइतबार बसेको अन्तरविभागीय प्रमुखहरूको बैठकले कर छली र राजस्व चुहावट नियन्त्रणमा समन्वयात्मकरूममा अघि बढ्ने निर्णय गरेको छ ।
राजस्व चुहावट तथा कर छलीसँग सम्बन्धित विविध विषयमा गम्भीररूपमा छलफल गरी नियन्त्रणका लागि विभिन्न निर्णय गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ । विभागका सूचना अधिकारी वासुदेव पौडेलका अनुसार तीनै निकायबीच सूचना संकलन तथा आदानप्रदान, बजार अनुगमन तथा गस्ती परिचालन र नक्कली तथा झूटो कारोबारलाई नियन्त्रणमा आवश्यक सहकार्य र समन्वयात्मकरूपमा काम गर्ने निर्णय भएको छ ।
बैठकपछि आइतबार साँझ विज्ञप्ति जारी गर्दै विभागले राजस्व चुहावटका जोखिमका क्षेत्र, वस्तु, नाका र समूह पहिचान, सूचना संकलन, विश्लेषण तथा सोको कार्यान्वयनका लागि एकापसमा सूचना आदानप्रदान गर्ने निर्णय पनि भएको छ ।