नयाँ दिल्ली, असार २९
भारतीय सिनेजगत्को उच्च प्रतिष्ठा स्थापित गर्दै विश्व सिनेमा जगतमा चर्चित व्यक्तित्व अमिताभ बच्चनको परिवारलाई कोरोना संक्रमण भएको छ । भारतीय मिडियाका अनुसार उनका छोरा अभिषेक बच्चन, अभिषेकपत्नी तथा चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई पनि कोरोना भएको छ ।
उनीहरू दुवै जनाले आफूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छुट्टाछुट्टै ट्विटमार्फत पनि शनिबार नै जानकारी गराएका थिए । उनीहरू नानावती अस्पतालको आइसोलेसन वार्डमा भर्ना भई उपचार सेवा सुरू गरिसकेका छन् । अमिताभकी बुहारी ऐश्वर्या तथा नातिनीलाई भने आइतबार कोरोना पोजिटभ भएको समाचारमा जनाइएको छ । उनीहरूलाई संक्रमणको ‘हल्का लक्षण’हरू देखिएको बताइएको छ । संघीय सरकारका स्वास्थ्यमन्त्री हर्षवर्धनले पनि बच्चनद्वय कोभिड–१९ संक्रमित भएको पुष्टि गर्दै भने, ‘७७–वर्षीय अमिताभ र छोरा अभिषेकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।’
भारतको बढी प्रभावितमध्ये एक राज्य महाराष्ट्रको मुम्बईमा शनिबारसम्म कुल ९१ हजार ४ सय ५७ व्यक्ति कोभिड–१९ संक्रमित भएकोमा अझै २२ हजार ७ सय ७९ व्यक्तिले विभिन्न स्थानमा उपचार सेवा लिइरहेका छन् भने आइतबारसम्म पाँच हजार २ सय ४१ व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बच्चनद्वय कोभिड–१९ संक्रमित भएको भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएसँगै फेसबुक र ट्वीटरलागयतका सामाजिक सञ्जालहरूमा उनीहरूको स्वास्थ्यलाभको कामनाका सन्देशहरूले भरिएका छन् ।