काठमाडौं । लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा गत कात्तिक ११ गते घरजग्गा व्यवसायी विक्रम लामामाथि भएको सांघातिक आक्रणमा काभ्रेका एमाले नेता रेशम लामा र एक जना जानेमाने पत्रकार पनि संलग्न रहेको समाचार स्रोतले जनाएको छ ।
हाल बेलायतमा रहेकी लक्ष्मी राईसँग सुपारी लिएर उक्त सांघातिक हमला भएको बुझिएको छ । विक्रम लामामाथि भएको सांघातिक आक्रमणपछि वेलकोटगढी २ का शैलेन्द्र तामाङ सोही दिन पक्राउ परेका थिए र आक्रमणकारी गिरोहका अन्य सदस्यहरू अजय लामा, निश्चल सुनार र दीपक ब्हामू फरार भएका थिए । विक्रमलाई मार्न ६० लाख रुपैयाँ सुपारी प्राप्त भएको भनी पक्राउ परेका शैलेन्द्र तामाङले प्रहरीसमक्ष बयान दिएपछि घटनाको एकपछि अर्को पोल खुल्दै आएको छ ।
नुवाकोट ककनी ६ का दिपेश लामासँग बिहे गरेपछि गहना व्यवसायी बनेकी भोजपुरकी लक्ष्मी राईको त्यतिबेलैदेखि एक जानेमाने पत्रकारसँग उठबस रहेको थियो र ती पत्रकारकै सहयोगमा उनी दिपेश लामालाई छाडेर काभ्रेका हालका एमाले नेता रेशम लामासँग जोडिएकी थिइन् ।
अहिले ती महिलाको रेशम लामासँग पनि मुद्दामामिला चलिरहेको छ । गत ११ गते सांघातिक आक्रमणमा परेका विक्रम लामा १२ वर्षअघि लक्ष्मी राईसँग बिहे गर्ने ककनीका दीपेश लामाका सहोदर दाजुभाइ हुन् । हाल बेलायत बस्ने लक्ष्मी राईको अन्डर सट भिक्टोरिया रोडमा न्यूलक्ष्मी ज्वेलर्स रहेको छ र अहिलेको उनको लगानीको आधार १२ वर्षअघि बिहे गरेका दिपेश लामाकै लगानी हो । लक्ष्मीले छाडेर हिँडेपछि उनले आफ्नो लगानी माग्दै गर्दा लक्ष्मीले प्रहरी प्रशासन र मिडिया मिलाउने गरी ती पत्रकारलाई ६० लाख रुपैयाँ सुपारी दिएर दिपेश र विक्रमलाई मान खोजेको प्रहरी अनुसन्धानले देखाएको छ ।
तिनै पत्रकारले धादिङका ३३ वर्षीय रमेश सिलवालसँग लक्ष्मी राईको पछिल्लो विवाह गराइदिएर बेलायत पठाएका हुन् । अहिले उक्त असफल हत्याकाण्डमा राई र सिलवाल दुवै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
बेलायत र नेपालको दोहोरो नागरिकता र पासपोर्ट प्रयोग गर्दै आएकी विवादास्पद महिला राईसँग सुन तस्करीको घटनामा जोडिएर फरार रहेका जीवन चलाउनेदेखि प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड र माधव नेपाललगायत पूर्वपर्यटन मन्त्री सुदन किराँती गण्डकी प्रदेशका पूर्वमन्त्री दिपक मनाङ्गे उर्फ राजीव गुरुङसँग रहस्यमय उठबस देखिएको छ ।