काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले सुदूरपश्चिमको समग्र विकास भएपछि मात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् । सुदूरपश्चिम चेम्बर अफ कमर्सको नवनिर्वाचित कार्यसमितिलाई कैलालीमा बधाई तथा शुभकामना दिने क्रममा उनले प्रदेशको कृषि, पर्यटन, जलविद्युत् विकासमार्फत समृद्धिको मार्गचित्र कोर्नुपर्ने बताए ।
‘राजनीतिक दृष्टिकोणले सुदूरपश्चिम प्रदेश सधैँ केन्द्रमा छ । प्रदेशमा भएको प्राकृतिक स्रोत, कृषि, सांस्कृतिक रहनसहनलाई प्रवद्र्धन गर्न हामी व्यवसायीको पनि महत्वपूर्ण योगदान रहीआएको छ’, उनले भने । प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशले विकासमा अपेक्षित फड्को मार्न नसकेको उनको भनाइ छ । सुदूरपश्चिम प्रदेशमा रहेको कृषि, पर्यटन, जलविद्युत् क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । सुदूरपश्चिमका जिल्लाहरूबाट सामान्य मजदूरीका लागि समेत भारत जानुपर्ने बाध्यतालाई तत्काल हटाउने गरी औद्योगिक वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
चेम्बरका उपाध्यक्ष सन्तोष पाण्डेले सुदूरपश्चिमको स्थानीय कृषि उपजहरूको बजारीकरण गर्नुपर्ने बताए । सुदूरपश्चिम प्रदेशअन्तर्गतका जिल्लाहरूमा उत्पादन हुने वस्तुहरूहरूको व्यावसायिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्ने र अन्य प्रदेशका मुख्य–मुख्य सहरहरूमा बजारीकरण गर्नुपर्नेमा उनले जोड दिए । प्रदेशका विभिन्न क्षेत्रमा निजी क्षेत्रको लगानी आर्कषित गर्नका लागि चेम्बर अफ कमर्सले पनि सहजीकरण गर्ने उनको भनाइ छ । सुदूरपश्चिम प्रदेशमा उत्पादन वृद्धि रोजगारी सिर्जना गर्न लगानीको वातावरण र नीतिगत स्थिरताको आवश्यक्ता रहेको उनले बताए ।