टोकियो । जापान सरकारले सन् २०४० सम्ममा सौर्य र वायुजस्ता नवीकरणीय ऊर्जा स्रोतहरूलाई देशको सबैभन्दा ठूलो ऊर्जा स्रोत बनाउने लक्ष्य लिएको छ । योजनाले सन् २०४० सम्ममा कुल विद्युत् उत्पादनको ४० प्रतिशतदेखि ५० प्रतिशतसम्म नवीकरणीय ऊर्जाको योगदान दिने प्रस्ताव गरेको थियो, जसले थर्मल पावरलाई उछिनेर ३० प्रतिशतदेखि ४० प्रतिशतसम्म योगदान पुर्याउँछ ।
हाल, जापानको ऊर्जा नीतिले सन् २०३० सम्ममा नवीकरणीय ऊर्जाको ३६ प्रतिशतदेखि ३८ प्रतिशत हिस्सा लिने लक्ष्य राखेको छ ।
नवीकरणीय ऊर्जाले मौसम निर्भरता र उच्च लागतजस्ता चुनौतीहरूको सामना गरिरहेको बेला जापान सरकारले यसको विस्तारलाई अगाडि बढाउन प्राविधिक आविष्कारको परिकल्पना गर्छ ।
यसैबीच, आणविक ऊर्जाले विद्यमान लक्ष्य ढाँचामा आफ्नो २० प्रतिशत हिस्सा कायम राख्नेछ । यसले नवीकरणीय ऊर्जासँगै ‘डेकार्बोनाइजेसन’ प्रयासहरूमा प्रमुख घटकको रूपमा सेवा गर्नेछ । डेकार्बोनाइजेसन भनेको वायुमण्डलमा कार्बनडाइअक्साइड हटाउन वा घटाउन प्रयोग गरिने शब्द हो । कम कार्बन ऊर्जा स्रोतहरूको प्रयोगमा स्विच गरेर डेकार्बोनाइजेसन हासिल गरिन्छ । यी लक्ष्यहरूसहितको योजनाको मस्यौदा अर्को हप्ता जारी हुने अपेक्षा गरिएको छ । रासस/सिन्ह्वा