काठमाडौं । घर मर्मतसम्बन्धी सबै काम अब मोबाइल एपबाटै हुने भएको छ । नेपालमा घरसम्बन्धी सम्पूर्ण किसिमको सेवा दिने मोबाइल एप्लिकेसन सेवा एपले एउटा घरधनीलाई आवश्यक हुने सबै किसिमका सुविधाहरू उपलब्ध गराउने भएको छ ।
घरभाडा सम्झौता, घरभाडा डायरीदेखि धारा बिजुली बनाउने कामदार र त्यस्ता कामको सुपरीवेक्षणका लागि प्राविधिक इन्जिनियरसम्म बोलाउन सकिने फिचरहरू मोबाइल एप्लिकेसन सेवा एपमा रहेका छन् । यस एपले विशेषतः काठमाडौं भ्यालीभित्र सेवा दिइरहेको छ, तथापि देशका मुख्य सहरहरू पोेखरा, चितवन, इटहरी, बुटवलबाट पनि यसको माग बढ्दो रहेको संस्थापक प्रशान्त प्रधान बताउँछन् । उनका अनुसार हाल यो एपमा १३ हजार ग्राहक र दुई हजार प्राविधिकहरू जोडिएका छन् ।
सेवा एपका सामाजिक सञ्जालहरूबाटै घरसम्बन्धी कन्टेटहरू समेत प्रदान गरिने हुँदा अहिले सेवा एपलाई सेवा दिएर भ्याइनभ्याइ रहेको जनाइएको छ । सेवा एपलाई विशेषतः मोडुलर किचेन, नयाँ कोठा निर्माण, स्काइलाइट, बाथरुम निर्माण तथा नवीकरणजस्तो सेवाहरूका लागि ग्राहकहरूले बढी सम्झने गरेका छन् ।