काठमाडौं । एनसेल फाउन्डेसनले प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम आईसीटी अवार्डसँग सहकार्य गरेको छ । योसँगै आईसीटी अवार्ड २०२४ मा अब एनसेल फाउन्डेसन सपोर्टेड बाई पार्टनरको रूपमा आबद्ध भएको छ ।
नवौँ संस्करणको इन्ड्राइभ आईसीटी अवार्ड २०८१ सपोर्टेड बाई एनसेल फाउन्डेसनको ग्रान्ड फिनाले पुस ५ गते ह्यात रिजेन्सी काठमाडौंमा आयोजना हुँदैछ । उक्त कार्यक्रममा डिजिटल विकासलाई बढावा दिँदै सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका र उल्लेखनीय योगदान पुर्याएका विभिन्न संस्था, स्टार्टअप र व्यक्तित्वहरूलाई विभिन्न १४ विधामा आईसीटी अवार्ड प्रदान गरिने छ । एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले डिजिटल रुपान्तरणका लागि आ–आफ्नो ठाउँबाट काम गरिरहेका सबै उत्कृष्ट संस्था, स्टार्टअप र व्यक्तित्वहरूको सम्मान गर्ने यो अवार्डमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरिन् । सूचना प्रविधि क्षेत्रमा महिलाहरूको सहभागिता बढाउन प्रोत्साहन गर्न एनसेलले विगत चार वर्षदेखि आईसीटी अवार्डमार्फत ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ समेत प्रदान गर्दै आएको छ । यो वर्ष पनि एनसेल फाउन्डेसनले सूचना प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका महिलाहरूको सम्मानमा आईसीटी अवार्डसँग मिलेर तीन लाख रूपैयाँ नगदसहित उक्त सम्मान गर्ने जनाएको छ ।
एनसेल फाउन्डेसनले विशेषगरी शिक्षा, समुदायस्तरमा प्रत्यक्ष प्रभाव पार्ने विभिन्न कार्यहरू, डिजिटल डिभाइड कम गर्न र साइबर सुरक्षा, डिजिटल साक्षरता जगाउन विभिन्न कार्यलगायतका पहलहरू अगाडि बढाएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भइरहेको उत्कृष्ट कार्य र व्यक्तित्वहरूको सम्मान गर्ने यो एक विशेष वार्षिक कार्यक्रम हो ।