काठमाडौं । हाम्रो देश नेपालमा हालसम्म पनि उत्तरी क्षेत्रका केही पर्यटकीय क्षेत्र तथा सीमा नाकाहरू विदेशी पर्यटकका लागि निषेध गरिएको छ । त्यसरी निषेध गरिएको अर्थात् निषेधित क्षेत्रहरू १५ वटा रहेका छन् । ती १५ वटा निषेधित क्षेत्रहरू हुन् १) माथिल्लो मुस्ताङ । २) माथिल्लो डोल्पा । ३) मनास्लु क्षेत्र (गोरखा जिल्ला) । ४) सिमकोट (हुम्ला जिल्ला) । ५) कञ्चनजंघा (ताप्लेजुङ जिल्ला) । ६) तल्लो डोल्पा (लोवर डोल्पा) । ७) गौरीशंकर क्षेत्र (दोलखा जिल्ला) । ८) चुम–नुब्री उपत्यका (गोरखा जिल्ला । ९) भोटखोला क्षेत्र (संखुवासभा जिल्ला) । १०) खुम्बु–पासाङल्हामु गाउँपालिको ५ नम्बर वडा क्षेत्र (नाङ्पाला पास–सोलुखुम्बु जिल्ला) । ११) गोसाईँकुण्ड गाउँपालिकाको १ र २ नम्बर वडाको केही क्षेत्र (रसुवा जिल्ला) । १२) नार्पा गाउँपालिकाको १ देखि ५ वडा (गाउँपालिको सबै क्षेत्र) र नासो गाउँपालिकाको ६ र ७ नम्बर वडा क्षेत्र (मनाङ जिल्ला) । १३) साइपाल गाउँपालिकाको १ देखि ५४ वडा सबै क्षेत्र (बझाङ जिल्ला) । १४) मुगुम–कार्मारोङ गाउँपालिकाको १ देखि ९ वडा सबै क्षेत्र (मुगु जिल्ला) । १५) व्यास गाउँपालिकाको २ नम्बर वडा (दार्चुला जिल्ला) ।
माथिका १५ वडा निषेधित क्षेत्रमध्ये माथिल्लो मुस्ताङ र माथिल्लो डोल्पाका लागि प्रतिविदेशी पर्यटकले १० दिनका लागि पाँच सय (५००) अमेरिकी डलर सलामी दस्तुर तिर्नुपर्ने हुन्छ । स्मरण रहोस्, माथिल्लो मुस्ताङ र माथिल्लो डोल्पाका लागि सलामी दस्तुर जुनसुकै सिजनमा गए पनि विदेशी पर्यटकहरूका लागि एकै दर तोकिएको छ भने गोरखा जिल्लाको मनास्लु क्षेत्रका लागि सेप्टेम्बरदेखि नोभेम्बरसम्म प्रतिविदेशी पर्यटकले सात (७) दिनका लागि एक सय (१००) अमेरिकी डलर सलामी दस्तुर तिर्नुपर्ने हुन्छ । त्यस्तै, गरेर डिसेम्बरदेखि अगस्टसम्म चाहिँ प्रतिविदेशी पर्यटकले सात (७) दिनका लागि पचत्तर (७५) अमेरिकी डलर सलामी दस्तुर तिर्नुपर्ने हुन्छ । उता हुम्ला जिल्लाको सिमकोट क्षेत्रमा भ्रमण गर्ने विदेशी पर्यटकहरूले चाहिँ प्रतिविदेशी पर्यटकले सात (७) दिनका लागि पचास (५०) अमेरिकी डलर सलामी दस्तुर तिर्नुपर्ने हुन्छ । त्यसैगरी ताप्लेजुङ जिल्लाको कञ्चनजंघा क्षेत्रमा भने चार (४) हप्ताका लागि प्रतिविदेशी पर्यटकहरूले २० अमेरिकी डलर सलामी दस्तुर तिरे पुग्छ । साथै, तल्लो क्षेत्र (लोवर डोल्पाका लागि पनि प्रतिहप्ता, प्रतिपर्यटक २० अमेरिकी डलर तोकिएको छ भने दोलखा जिल्लाको गौरीशंकर क्षेत्रमा भ्रमण गर्ने विदेशी पर्यटकहरूले प्रतिहप्ता २० अमेरिकी डलर सलामी तिनुपर्ने व्यवस्था गरिएको छ ।
एवं प्रकारले गोरखा जिल्लाको चुम–नुब्री उपत्यकामा भ्रमण गर्न चाहने विदेशी पर्यटकहरूले चाहिँ सेप्टेम्बरदेखि नोभेम्बरसम्म प्रतिहप्ता, प्रतिव्यक्ति ४० अमेरिकी डलर र डिसेम्बरदेखि अगस्टसम्म प्रतिहप्ता, प्रतिव्यक्ति ३० अमेरिकी डलर सलामी दस्तुर तिर्नुपर्ने हुन्छ । उता संखुवासभा जिल्लाको भोटखोला क्षेत्रमा जान चाहने विदेशी पर्यटकहरूले चाहिँ प्रतिपर्यटक चार हप्ताको २० अमेरिकी डलर सलामी तिर्नुपर्ने हुन्छ भनेदेखि सोलुखुम्बु जिल्लाको खुम्बु–पासाङल्हामु गाउँपालिको ५ नम्बर वडा क्षेत्र (नाङ्पाला पास–सोलुखुम्बु जिल्ला) मा भ्रमण गर्न चाहने विदेशी पर्यटकहरूले पनि प्रतिपर्यटकले चार हप्ताको २० अमेरिकी डलर सलामी दस्तुर नेपाल सरकारलाई बुझाउनुपर्ने हुन्छ । त्यस्तै गरेर रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिकाको १ र २ नम्बर वडाको क्षेत्र भ्रमण गर्न जाने विदेशी पर्यटकहरूले पनि प्रतिव्यक्ति प्रतिदिन २० अमेरिकी डलर सलामी तिर्नुपर्ने हुन्छ । साथै, मनाङ जिल्लाको नार्पा गाउँपालिकाको १ देखि ५ वडा (गाउँपालिको सबै क्षेत्र) र नासो गाउँपालिकाको ६ र ७ नम्बर वडा क्षेत्रमा भ्रमण गर्न चाहने विदेशी पर्यटकहरूले चाहिँ सेप्टेम्बरदेखि नोभेम्बरसम्म प्रतिहप्ता, प्रतिव्यक्ति एक सय अमेरिकी डलर र डिसेम्बरदेखि अगस्टसम्म प्रतिहप्ता, प्रतिव्यक्ति ७५ अमेरिकी डलर सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी बझाङ जिल्लाको साइपाल गाउँपालिकाको १ देखि ५ वडा सबै क्षेत्रमा भ्रमण गर्न जान चाहने विदेशी पर्यटकहरूले प्रतिहप्ता, प्रतिव्यक्ति ९० अमेरिकी डलर सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, गरेर मुगु जिल्लाको मुगुम–कार्मारोङ गाउँपालिकाको १ देखि ९ वडा सबै क्षेत्रमा भ्रमण गर्न चाहने विदेशी पर्यटकहरूले प्रतिहप्ता, प्रतिव्यक्ति एक सय अमेरिकी डलर सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ । भनेदेखि दार्चुला जिल्लाको व्यास गाउँपालिकाको २ नम्बर वडा (दार्चुला जिल्ला) भ्रमण गर्न जान चाहने विदेशी पर्यटकहरूले पनि प्रतिविदेशी पर्यटकले एक हप्ताका लागि ९० अमेरिकी डलर सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसरी हेर्दा नेपालका उत्तरी छिमेकी देश चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका केही जिल्लाका नाकालाई निषेधित क्षेत्र घोषणा गरिएको भए पनि अब त्यसको दरकार छजस्तो लाग्दैन । किनभने ऊ बेला तत्कालीन श्री ५ को सरकारले त्यसरी निषेधित क्षेत्र घोषणा गर्नुको खास कारणचाहिँ युरोप र अमेरिकी पर्यटकहरूलाई लक्षित गरेर हो भन्ने सहजै बुझ्न सकिन्छ । किनभने, चीन सरकारले विदेशीहरू (युरोप र अमेरिकी देशका जासुस वा भनौँ एजेन्ट) पर्यटकको भेषमा नेपालको बाटो भई चीनको स्वशासित क्षेत्र तिब्बत छिरेर उपद्रव मच्चाउलान् भन्ने आशंका गर्ने गर्थ्यो, गर्ने गर्छ । वास्तवमा चीन सरकारले नेपाल सरकारलाई आग्रह गरेपछि नेपालको उत्तरी क्षेत्रका केही नाकाहरू निषेधित क्षेत्र घोषणा गरेको हो भनी बुझ्न गाह्रो छैन । तर, अब समयको गतिसँगसँगै सकेसम्म चाँडो निषेधित क्षेत्र भनी तोकिएका क्षेत्रहरू खुला गर्दा नै समग्र पर्यटन क्षेत्र, स्थानीय सरकार एवम् जनताहरूलाई पनि फाइदाजनक हुने देखिन्छ । त्यसैले यस विषयमा नेपाल सरकारले गम्भीर भएर सोच्नुपर्ने देखिन्छ ।