काठमाडौं । भारतमा निर्वासित जीवन बिताइरहेका धार्मिक नेता दलाई लामा आउँदो जुलाई ६ मा ९० वर्षमा प्रवेश गर्दै छन् । उनको जन्म दिनलाई भब्य बनाउने तिब्बतको गतिबिधि काठमाडौंमा बाक्लििदै गएको जानकारि प्राप्ता भएको छ । ९०औं जन्मदिन भव्य रूपमा नेपालमा मनाउन लामाका दुई अनुयायी नेपाल आएर विभिन्न गुम्बा तथा धर्मगुरुहरूलाई भेटेर भारत पुगेका छन्।
सन् १९५९ मा तिब्बतबाट भागेर भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका लामाका मन्त्रिपरिषद् पूर्वसांसदद्वय न्यामगेल डोल्कर ल्यागरी, लेग्यन तुप्तेन गाल्सेन नेपाल आएर आउँदो जुलाईमा मनाइने जन्मदिनलाई भव्य बनाउने विषयमा नेपालमा रहेको दलाई लामाको सम्पर्क कार्यालय, बौद्ध, फर्पिड, स्वयम्भूका विभिन्न गुम्बाहरूको भ्रमण गरेर त्यहाँका बौद्धमार्गी धार्मिक नेताहरूलाई भेटेर सुटुक्क भारत फर्केको सुरक्षा उच्चस्रोतले बताएको छ ।
दलाई लामाको मन्त्रीमण्डलका दुई पूर्व संसादहरूको नेपाल भ्रमणका बारेमा नेपाल सरकारलाई जानकारी नभएको गृह मन्त्रालयले बताएको छ। मन्त्रालयका अनुसार उनीहरू नेपाल आएको भन्ने जानकारी अहिलेसम्म कुनै पनि सुरक्षा निकायले जानकारी गराएको छैन ।
यसअघि काठमाडौंमा भएको ननहाई बुद्धिजम राउन्ड टेबलमा चीन सरकारले हुर्काउँदै आएका पन्चेन लामालाई सहभागी गराउने भनिए पनि लामाको नेपाल आउने कार्यक्रम रोकिएको थियो ।
नेपालले एक चीन नीतिअन्तर्गत नेपालमा दलाई लामाका कुनै पनि गतिविधि गर्न रोक लगाएको छ भने नेपालमा शरणार्थी जीवन बिताइरहेका तिब्बतियन नागरिकहरूलाई नेपालमा बस्न खान दिए पनि दलाई लामाका कुनै पनि गतिविधि गर्न भने रोक लगाउँदै आएको छ ।
चीनले नेपालमा दलाई लामाको गतिविधि खुलेआम रूपमा हुने गरेको भन्दै नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदै आए पनि दलाई लामाका अनुयायीहरूले भने विभिन्न गुम्बाका जुलाई ६ मा जन्मदिन, मार्च १० मा विद्रोह दिवस भव्य रूपमा मनाउने गरेका छन् ।
नेपालमा झन्डै २० हजारको हाराहारीमा तिब्बती शरणार्थी रहेको अनुमान गरिएको छ । पछिल्लो समय सरकारले शरणार्थीको दर्जा दिन बन्द गरेपछि विभिन्न बाटो भएर नेपाल आउने शरणार्थीहरू वर्गीकरणमा पर्ने गरेका छैनन् ।