काठमाडौं, असार ३१
नेपाल इन्भेष्टमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेको पदावधि थप भएको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको पाँच सय ३२औँ बैठकले प्रमुुख कार्यकारी पाण्डेको कार्यकाल आगामी चार वर्ष अर्थात् एक कार्यकाल थप गरेको हो । बैंकका अनुसार पाण्डेको थप कार्यकाल साउन १ गतेबाट कार्यान्वयनमा आउनेछ ।
नेपाली बैंकिङ क्षेत्रमा निकै कुुशल व्यवस्थापकीय क्षमता भएको प्रमुुख कार्यकारीको रुपमा परिचय बनाएका पाण्डेकै कारण बैंकले नयाँ उचाइ लिएको छ । पछिल्लोपटक तनहुँ हाइड्रोपावरसँग सम्बन्धित मुुद्दा जितेर झण्डै दुई अर्ब नेपाली रुपैयाँ फिर्ता ल्याउन सफल भएको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब ४९ करोड ५५ लाख २७ हजार रुपैयाँ खुद मुनाफा कमाइसकेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा दुुई अर्ब ५६ करोड ५६ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा एक खर्ब ५६ अर्ब ७७ करोड ९७ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३८ अर्ब ११ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ५३ करोड ५९ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
बैंकले गत आवको सोही अवधिमा भने एक खर्ब ४९ अर्ब ३९ करोड २२ लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २२ अर्ब ८६ करोड ६५ लाख ५४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ९१ करोड १७ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव चार प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।