काठमाडौं । देशमा सुशासन कायम गर्ने भनेर मूल उद्देश्य राखी नयाँ खुलेको र त्यही नाराले पहिलो चुनावमा नै संसद्को चौथो हैसियत पाएको एउटा नयाँ दल रास्वपाका सभापति आफैँ यतिबेला सहकारी ठगीको आरोपमा मुद्दा खेपिइरहेका छन् । उनीविरुद्ध गम्भीर प्रकारका तीनवटा कसुर लागेको छन् । अदालतमा दर्ताभएको आरोप पत्रमा उनी मात्र होइन उनकी पत्नी पनि प्रतिवादी बनाइएकी छन् । पतिले गरेको कसूर ठहर भए पत्नीको नाममा रहेको सम्पत्ति पनि जफत हुनेछ । यसको अर्थ हो यस्तो कसुरमा पतिपत्नी दुवैको संलग्नता देखियो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा लागेको आरोपका बारेमा यी पतिपत्नीको कसुरका बारेमा अदालतमा परीक्षण चलिरहेको छ । उता यस्तो भइरहँदा यता एउटा अर्को सहकारी ठगी प्रकरणमा एक अर्का भ्रष्टाचारविरुद्धका अभियन्ता भनी चिनाउने व्यक्ति सहकारी ठगीमा अनुसन्धानका लागि पक्राउ परेका छन् । यसले खासगरी सहकारी ठगी देशमा कुन हदसम्म मौलाएको रहेछ भन्ने प्रष्ट पार्छ ।
पाँचवटा सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पोखरामा रास्वपा सभापतिसहितलाई मुद्दा दर्ता भएकै दिन यता काठमाडौंमा रहेको साई स्वागत सहकारीका पूर्वअध्यक्ष भरतमणि जंगम र पूर्वकोषाध्यक्ष लुमन दाहालको हिसारतमा रहने म्याद थपियो । उनीहरूमा साई स्वागत सहकारीका बचतकर्ताको रकम हिनामिना गरको आरोप लागेको छ । रास्वपा सभापतिकी पत्नी जो पोखराको मुद्दा दर्तामा सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकी छिन् उनी यो सहकारीकी पनि पूर्वउपाध्यक्ष हुन् । उनको यस्तो कार्यकालमा नै यस्तो अपचलन भएको आरोप लागेको हो, जसमा भ्रष्टाचारविरुद्ध अभियान चलाइरहने भनिएका जंगम पक्राउ परे । जंगम अध्यक्ष र दाहाल यो सहकारीमा पदाधिकारी रहेकै बेला रास्वपाका सभापति पत्नी निकिता पौडेल उपाध्यक्ष रहेको अवस्थाले यो अपचलनमा उनी पनि तानिनसक्ने देखाउँछ । जंगम भ्रष्टाचारविरुद्धका त्यस्ता अभियन्ता हुन जो सुशासनका बारेमा विभिन्न टेलिभिजन र रेडियो कार्यक्रम चलाउँदै आएका थिए । राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन चलाउँदा उनी राजाबाट भ्रष्टाचारविरुद्धको अभियानका लागि विशेष दौडाहामा नियुक्त भएका थिए । आफ्ना लागि अतिविश्वासिला नभइकन राजामहाराजाहरूले कसैलाई नियुक्ति गर्दैनन् । त्यसबेला जंगम राज्यका दूत नै भएर निरीक्षण टोलीमा नियुक्त भएका थिए । त्यसबेला उनको प्रत्यक्ष उत्तरदायित्व राजा र उनको सचिवालयप्रति मात्र हुन्थ्यो ।
भ्रष्टाचारविरुद्धका अभियन्ता भनी चिनिने जंगम सहकारी ठगीमा पक्राउ परेका आधार भने उल्लेखित सहकारीमा काठमाडौं महानगरपालिकाको अध्ययन प्रतिवेदन हो । महानगरले लामो अध्ययनपछिको निष्कर्षका आधारमा काठमाडौं जिल्ला प्रहरी परिसरले जंगम र दाहाललाई पक्राउ गरेको हो । प्रहरीले सुरुमै उनीहरूलाई पाँच दिन हिरासतमा राख्न पहिलोपटक नै म्याद पाएको अवस्था देखियो । कास्की जिल्ला अदालतमा मुद्दा दायर भएका निवर्तमान गृहमन्त्री आफूलाई पनि भ्रष्टाचारविरुद्ध धेरै ठूलो अभियन्ता ठान्थे । निर्वाचन क्रममा उनले आफूसँग धेरै नेताका भ्रष्टाचारको फाइल रहेको र जित्नासाथ खुलामञ्चमा गएर खोलिदिने बाचा गरेका थिए । तर अहिले उनी करिब पौने अर्बको बिगो तिर्नुपर्ने ठगका रूपमा देखिएका छन् । अदालतको प्रक्रियामा रहेका हुँदा कसुर खट्ने नखट्ने भन्नेचाहिँ अलग हो ।
तर सुशासनका लागि जो ठूला अभियन्ता हौँ भन्नेहरू नै यसरी ठूला ठगमा प्रकट हुन थालेका घटना सामान्य होइनन् । यसले देशमा सुशासनका नाममा छद्म भेषधारीहरूको बोलवाला बढेको देखाउँछ बुझाउँछ । यस्ताहरूबाट सतर्क हुन वा रहन आवश्यक छ । दुईपटक गृहमन्त्री भएका व्यक्तिमाथि संगठित अपराध गरेको भनेर प्रहरीले आरोप लगाउनुपर्ने अवस्था निश्चय नै सामान्य होइन । अहिलेसम्म लागेका अभियोग हेर्दा योजनाबद्धरूपले नै सर्वसाधारणलाई ठगी गरेकोजस्तो देखिन्छ । त्यो गलत सावित होस् भन्ने अपेक्षा गरौँ ।