काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरूपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम (इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी)सँगको साझेदारीमा ’एम्पावर फाइनान्स एलायन्स’अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ । नेपालमा यसप्रकारको पहिलो पहलको रूपमा गरिएको यो सम्झौताले वित्तीय दुरूपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदमहरू चाल्नेछ । अस्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थन प्राप्त यस साझेदारीले वित्तीय सुरक्षा सुधार र समावेशी आर्थिक वृद्धिलाई टेवा पुर्याउनेछ ।
पति–पत्नी, वृद्धि आफन्त वा घरपरिवारका अन्य सदस्यहरूमाथि नियन्त्रण जमाउँदै हुने वित्तीय स्रोतहरूको दुरूपयोग वित्तीय दुरूपयोग हो । यसमा परिवारका सदस्यहरूको बैंक खाता र कर्जाजस्ता वित्तीय साधनहरूको दुरूपयोगजस्तै आफ्नो बैंक खाता आफ्नो नभई अरूको नियन्त्रणमा हुनु, वित्तीय संस्थाबाट आफ्नो लागि नभई अरूका लागि ऋण लिन बाध्य बनाइनुजस्ता क्रियाकलापहरू पर्छन् । यसले वित्तीय समावेशीकरणका प्रयासलाई कमजोर बनाउनुका साथै वित्तीय नोक्सान, क्रेडिट रेटिङ तथा प्रतिष्ठानमा नकारात्मक असर र वित्तीय संस्थाप्रतिको विश्वासको संकट निम्त्याउनेजस्ता गम्भीर प्रभाव पार्न पनि सक्छ । ‘वित्तीय दुरूपयोगले जनजीवनमा विभिन्न अवरोध पुर्याउनुका साथै वित्तीय प्रणालीप्रतिको विश्वासलाई पनि घटाउँछ । यस साझेदारीमार्फत हामी वित्तीय दुरूपयोगलाई पहिचान र रोकथाम गर्न वित्तीय संस्थाहरूमा नै मानकहरू लागू गरी प्रणालीगत सुधार ल्याउन र वित्तीय गतिविधिहरूका लागि सुरक्षित वातावरण सिर्जना गर्न चाहन्छौं’, आईएफसीका बंगलादेश, भुटान र नेपालको देशीय प्रबन्धक मार्टिन होल्टमानले भने । ‘एम्पावर फाइनान्स एलायन्स’मार्फत आईएफसीले लक्ष्मी सनराइज बैंकलाई सुरक्षित बैंकिङ सेवाहरू विकास गर्न आवश्यक मार्गनिर्देशन दिनेछ । यसले बैंकलाई वित्तीय दुरूपयोग रोकथाम र समाधानमा आफ्नो भूमिका परिभाषित गर्न र कार्यान्वयनको अवस्था जानकारीका लागि आन्तरिक परीक्षण गर्न सहयोग पुर्याउनेछ ।
‘यो साझेदारी बैंकिङ क्षेत्रमा वित्तीय दुरूपयोगजस्तो महत्वपूर्ण तर प्रायः बेवास्ता गरिने समस्यालाई समाधान गर्नेतर्फ एक महत्वपूर्ण कदम हो’ लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले भने । ‘आईएफसीसँगको सहकार्यमा हामी वित्तीय सेवाहरूमा सुरक्षा र समावेशितालाई पुनःपरिभाषित गर्दै नयाँ मापदण्डहरू स्थापना गर्ने र संवेदनशील समूहका लागि सुरक्षित वातावरण सिर्जना गर्ने लक्ष्य राखेका छौँ ।’
गत अगस्ट महिनामा आईएफसीद्वारा अस्ट्रेलिया सरकारको समर्थनमा सुरु गरिएको ’एम्पावर फाइनान्स एलायन्स’मा नेपाल, पपुआ न्यु गिनी, श्रीलंका, भानुआतु र भियतनामका नौ वित्तीय संस्थाहरू समावेश छन्, जसले सामूहिकरूपमा तीन करोडभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्छन् । हरेक बैंकसँग सहकार्य गर्दै यस एलायन्सले वित्तीय दुरूपयोगको जोखिम घटाउन सुरक्षित बैंकिङ सेवाहरूको मूल्याङ्कन, डिजाइन र विकास गर्न मार्गनिर्देशन प्रदान गर्छ ।