काठमाडौं । नेपाल सरकारले विसं. २०८१ मा कम्तीमा १६ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । जबकि सन् २०२४ को १० महिना बितिसक्दा जम्मा नौ लाख २४ हजार तीन सय ९३ जना विदेशी पर्यटकको मात्रै आगमन भएको छ । जस्तै, जनवरी महिनामा ७९ हजार एक जना, फेब्रुअरी महिनामा ९४ हजार चार सय २६ जना, मार्च महिनामा एक लाख २८ हजार एक सय ६७ जना, अप्रिल महिनामा एक लाख ११ हजार तीन सय ७६ जना, मे महिनामा ९० हजार दुई सय ११ जना, जुन महिनामा ७६ हजार सात सय ३६ जना, जुलाई महिनामा ६४ हजार पाँच सय ९९ जना, अगस्ट महिनामा ७२ हजार सात सय १९ जना, सेप्टेम्बर महिनामा ९६ हजार तीन सय पाँच जना र १०, अक्टोबर महिनामा एक लाख २४ हजार तीन सय ९३ जना विभिन्न देशका पर्यटकहरू नेपाल भ्रमण गर्न आएका छन् । यसरी हेर्दाखेरि विसं २०८१ मा १६ लाख त होइन, १२ लाख ७६–८० हजारदेखि १३ लाख १०–१५ हजारसम्म पुग्ला कि ? साथै, इस्वी सन् २०२४ मा चाहिँ ११ लाख ६–१० हजारदेखि ११ लाख ३०–३५ हजारसम्म पुग्ला कि ? भन्ने अनुमान गर्न सकिन्छ । किनकि सन् २०२४ को बाँकी रहेको दुई महिना (नोभेम्बर–डिसेम्बर) मा मासिक एक लाखका दरले विदेशी पर्यटक नेपाल भ्रमण गर्न आए भने पनि बढीमा ११ लाख नाघ्ने हो ।
सन् २०२४ मा नोभेम्बर महिनाको सुरुदेखि नै (कात्तिक २३ गतेदेखि) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगभग पाँच महिना (चैत १८ गते) सम्म हरेक दिन (खासमा रातको समयमा) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण–पश्चिमतिरको ट्याक्सी वे, पूर्वतर्फको ह्याङ्गर एप्रोन, लिंक रोड, धावनमार्गको क्षमता विस्तारलगायत स्तरोन्नतिका अन्य कामका लागि बन्द हुँदैछ । हुन पनि सो काम गर्ने क्रममा कमभन्दा कम हवाई उडान प्रभावित होस् भनेरै होला, रातको १० बजेखेखि बिहानको आठ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान बन्द गरिएको भनेर नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । जसले गर्दा लगभग ३० प्रतिशत आन्तरिक हवाई उडान र २५ प्रतिशत अन्तर्राष्ट्रिय उडान प्रभावित वा भनौँ कटौती हुनेछ । हुन त विमानस्थल लगभग पाँच महिना (२३ कत्तिक–१८ चैत) गतेसम्म भने पनि तोकिएको समय–सीमाभित्रै त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको ह्याङ्गर एप्रोन, लिंक रोड, ट्याक्सी वे, धावनमार्गको क्षमता विस्तारलगायत स्तरोन्नतिका अन्य काम सकिन्छ नै भन्ने ग्यारेन्टीचाहिँ छैन । त्यसैले गर्दा अबको लगभग पाँच महिनामा नेपालमा विदेशी पर्यटक आगमनको संख्या पनि त्यहीअनुसार अर्थात् २३–२५ प्रतिशतदेखि २९–३१ प्रतिशतसम्म घट्न सक्ने देख्रिन्छ । हुन त त्यसका विकल्पका लागि भैरहवाको लुम्बिनीमा गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र कास्कीको पोखरामा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरू नभएका होइनन् । तापनि ती दुई विमानस्थलमा ‘न्यारो बडी’ अर्थात साना र मझौला खालका विमानहरू मात्रै बस्न र उड्न (टेक–अफ टेक–अन) गर्न सक्छन् । हुन त केही अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूले लुम्बिनीमा रहेको गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो हवाई उडान सुरु ग्रिसकेका छन् । तथापि पनि ती हवाई उडान कम्पनीहरूले नेपालमा खासै विदेशी पर्यटकहरू ल्याउँदैनन् ।
त्यसैले आर्थिक वर्ष (०८१/८२) को बजेट भाषणमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष (विसं ०८१–८२) मा १६ लाख विदेशी पर्यटक भित्र्याउने उल्लेख जो गरेका थिए, लक्ष्य जो लिएका थिए, सो लक्ष्य अब पूरा नहुने पक्काजस्तै भएको छ । अथवा पूरा भई हालेमा कसरी होला ? त्यसका लागि त जादुमयी ढंगले केही चामत्कारिक ढंगले कामहरू हुनुपर्ने हुन्छ, अब तुरुन्तै जादुमयी ढंगले त्यसरी चामत्कारिक काम हुनु असम्भव छ । भलै बजेट भाषणपछि तत्कालीन विभागीय मन्त्री अर्थात् तत्संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष (विसं २०८१ मा) १६ लाख विदेशी पर्यटक भित्र्याउन सरकारले काम गरिरहेको बताउनुभएको थियो । अहिलेका विभागीय मन्त्रीले पनि यो रटान लगाउन छाड्नुभएको छैन । यसरी बजेट भाषणमै चालु आर्थिक वर्ष ०८१–८२ मा १६ लाख विदेशी पर्यटक भित्र्याउने घोषणा गरेको भए पनि सरकारले त्यस्तो जादुमयी ढंगले चामत्कारिक काम गरिरहेजस्तो लाग्दैन ।
किनभने छिमेकी देशहरू भारत र चीन, भुटान, बंगलादेश, मलेसिया, हङकङ, थाइल्यान्ड, संयुक्त राज्य अमेरिका, बेलायत इन्डोनेसिया, भियतनाम आदि देशका धेरै जनसंख्या भएका ठूला सहरहरूमा रातारात हवाई उडानहरू थप्नुपर्यो, चार्टर उडानहरू गर्नुपर्यो । तर फेरि पनि भन्नु पर्दाखेरि त्यसरी छिमेकी देशहरू भारत र चीन, भुटान, बंगलादेश, मलेसिया, हङकङ, थाइल्यान्ड, संयुक्त राज्य अमेरिका, बेलायत इन्डोनेसिया, भियतनाम आदि देशका ठूला र धेरै जनसंख्या भएका सहरहरूमा रातारात हवाई उडानहरू थपेर मात्रै त भएन, त्यहाँका जनताहरू पनि नेपालको भ्रमण गर्न आउनका लागि तयारी अवस्थामा हुनु पर्यो । त्यसमाथि पनि नेपाल आउनका लागि प्रायः सबै देशका पर्यटकका लागि हवाईजहाज भाडा असाध्यै महँगो रहेको छ । हो, त्यही कारणले गर्दा पनि विसं २०८१ मा १६ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य असम्भव रहेको छ । हुन त अझै पनि १६ लाखको सो लक्ष्य पूरा गर्ने हो भनेदेखि हरेक महिना लगभग एक लाख ६४–६८ हजार विदेशी पर्यटकहरू नेपाल भ्रमणमा आउनुपर्ने हुन्छ । जुन कुरो विनाआधार सम्भव नै हुँदैन ।
हुन त आजभोलि नेपालमा मात्रै नभएर विश्वका प्रायः सबै देशमा पर्यटकीय गतिविधि बढेको अवस्था छ । पर्यटकीय गतिविधिहरू चलायमान रहेको छ भन्न सकिन्छ । हुन पनि हाम्रो देश नेपाल ‘मास टुरिस्ट’को प्रमुख गन्तव्यकै रूपमा विकसित हुँदै गइरहेको देखिन्छ । खासमा नेपाल सरकारले तुरुन्तै अन्तर्राष्ट्रिय हवाई उडानको व्यवस्था गर्न–अन्तर्राष्ट्रिय हवाई उडान थप्न सके यो वर्ष त त्यस्तै हो, अर्को वर्षदेखिचाहिँ वार्षिकरूपमा १३–१४ लाख मात्रै होइन, १७ लाख मात्रै पनि होइन, १८ लाखदेखि २० लाखसम्म पुग्न सक्ने सम्भावना देखिन्छ । उता बाह्य देशहरूसँग पनि हवाई यातायातको विस्तार हालसम्म हुन सकेको छैन । त्यसो नभई नेपालमा विदेशी पर्यटकको संख्या धिमा गतिमै रहिरहने देखिन्छ । अझ ईयुले सन् २०१३ देखि गर्दै आएको नेपाली हवाई जहाजमाथिको (हवाई उडानसम्बन्धी) कालोसूची अर्थात् ‘ब्ल्याक लिस्ट’को राजनीतिलाई अझसम्म कायमै रहेको छ । त्यसले नेपाली पर्यटन उद्योगमा थप असर परिरहेको छ ।