काठमाडौं । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका व्यक्तिलाई संलग्न गर्ने उद्देश्यले ल्याएको स्टार्टअप उद्यममा आकर्षण बढ्दै गएको छ । सरकारले सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन थालेपछि स्टार्टअपमा आकर्षण बढेको देखिन्छ । उद्योग मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले यस पटक स्टार्टअप उद्यम कर्जाका लागि पाँच हजार एक सय ५८ जनाले परियोजना पेस गरेको जनाएको छ ।
प्रतिष्ठानका सूचना अधिकारी विश्वनाथ घिमिरका अनुसार भदौ महिनामा प्रतिष्ठानले स्टार्टअप उद्यम गर्न इच्छुकसँग आवेदन माग गरेको थियो । परियोजना प्रस्ताव धेरै संख्यामा पर्नुमा कर्जा परिचालन नीति महत्वपूर्ण कारण रहेको घिमिरेले बताए । सरकारले स्टार्टअप उद्यम गर्न इच्छुकलाई सस्तो ब्याजदरमा विनाधितो कर्जा प्रदान गर्ने नीति लिएको छ । यस वर्ष गत वर्षभन्दा चार गुणा बढी आवेदन परेको सूचना अधिकारी घिमिरले बताए ।
‘पहिलो चरणमा एक हजार छ सय ५८ वटा आवेदन परेकोमा अहिले त्यसको करिब चार गुणा आवदेन परेको हो’, उनले भने, ‘स्टार्ट अप नीतिमा भएको सहुलियतताले समेत आकर्षण बढेको हो ।’ आवेदन दिनेहरूमा सबैभन्दा बढी काठमाडौं जिल्लाका उद्यमी रहेका छन् । यसबाहेक कालिकोट, जाजरकोट, अछामलगायतका जिल्लाबाट समेत आवेदन परेको छ । उपत्यकाका तीनवटा जिल्ला काठमाडौं, भक्तपुर, ललितपरका साथै ४० भन्दा बढी जिल्लाबाट स्टार्ट अप उद्यमीहरूले आवेदन दिएका छन् ।
प्रतिष्ठानका अनुसार स्टार्टअप उद्यमका लागि चालू आर्थिक वर्षको लागि एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ । बजेटमार्फत उक्त रकम विनियोजन गरिएको हो । स्टार्टअपका लागि छनोट भएको खण्डमा तीन प्रतिशत ब्याजदरमा विनाधितो कर्जा प्राप्त हुन्छ । प्रतिष्ठानले हाल मात्रै रकम परिचालनका लागि राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको छ भने कर्जा सुरक्षणका लागि निक्षेप तथा कर्जा सुरक्षण कोषसँग समेत सम्झौता गरेको छ ।
स्टार्टअप उद्यम कार्यका लागि ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ अनुरुप बैंकले कर्जा प्रवाह गर्दा बढीमा पाँच लाख रुपैयाँसम्मको कर्जाको हकमा एक किस्ता, १५ लाख रुपैयाँसम्मको लागि दुई किस्ता र सोभन्दा माथि २५ लाख रुपैयाँसम्मको कर्जाको हकमा तीन किस्तामा कर्जा रकम उपलब्ध गराउनेछ । कार्यविधिबमोजिम कर्जा प्राप्त गर्ने उद्यमीको कर्तव्य पनि ताकिएको हुनेछ । स्टार्टअप उद्यम उद्देश्यबमोजिम कर्जा रकमको प्रयोग गर्ने, सम्झौताबमोजिम कर्जाको साँवा र ब्याज रकम चुक्ता गर्ने, नियमाक निकाय वा बैंकबाट गरिने अनुगमनको क्रममा आवश्यक सूचना तथा तथ्याङ्क उपलब्ध गराउने, आफूले गरेको स्टार्ट अप उद्यमको प्रगति प्रतिवेदन चौमासिकरूपमा कर्जा प्रवाह गर्ने बैंकमा पेस गर्ने, प्रतिष्ठान, समिति र बैंकले दिएको निर्देशनको पालना गर्ने कर्तव्य कर्जा प्राप्त गर्ने उद्यमीको हुने व्यवस्था छ ।
स्टार्टअप उद्यमका लागि लिएको रकमको दुरुपयोग गरेमा वा समयमा कर्जा चुक्ता नगरेमा बैंकले कारबाहीका लागि सम्बन्धित निकायमा सिफरिस गर्नसक्ने व्यवस्था समेत गरिएकोे छ । स्टार्टअप उद्यमलाई कर्जा सुविधा प्राप्त गर्नका लागि भने चुक्ता पुँजी ५० लाख रुपैयाँभन्दा बढी नभएको, उद्यमको कुल आम्दानी वार्षिक ५० लाख रुपैयाँभन्दा बढी नभएको, स्थिर पुँजी (घरजग्गा मूल्यबाहेक) दुई करोड रुपैयाँभन्दा बढी नभएको हुनुपर्नेछ ।
्प्रतिष्ठानका अनुसार कार्यविधिअनुरूप स्टार्टअप उद्यमका लागि भने १६ वटा क्षेत्र निर्धारण गरेको छ । उक्त क्षेत्रहरुमा कृषि तथा पशुपन्छी, वन (जडीबुटी, वन पैदावर), पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधि, मानव स्वास्थ्य सेवा, शिक्षा तथा शिक्षण सिकाइ, सहज र सुरक्षित यातायात तथा पारवहन रहेको छ भने तिनीहरूका दर्जन सहायक क्षेत्रहरूको तोकिएको छ । आवेदन माग गरेको प्रस्तावहरू प्रतिष्ठानले छनोट गर्छ । छनोट भएका परियोजना तथा आवेदकहरूले व्यावसायिक प्रस्तावको प्रस्तुतीकरण दिनुपर्ने हुन्छ ।
प्रस्तुतीतकरण सकेसम्म प्रस्ट, बुँदागत र स्टार्टअप उद्यम कर्जाका लागि पेस गरिएको परियोजना प्रस्तावअनुसार हुनुपर्ने प्रतिष्ठानका प्रवक्ता विश्वनाथ घिमिरेले जानकारी दिए । उनका अनुसार प्रस्तुतीकरणका समयमा व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, मूल्य अभिवृद्धि कर र आयकर दर्ताको सक्कल प्रमाणपत्र, करचुक्तालगायतका काजगात संलग्न गर्नुपर्ने हुन्छ । साथै प्रस्तुतीकरणका लागि आधिकारिक प्रस्तावक स्वयं उपस्थित हुनपर्नेछ वा आधिकारिक प्रस्तावक स्वयं उपस्थिति हुन नपाएको खण्डमा भने उक्त परियोजनामा प्रत्यक्ष संलग्न प्रतिनिधिलाई प्रस्तुतीकरणका लागि संलग्न गराउन सक्ने व्यवस्था गरिएको छ ।
स्टार्टअप विश्वका धेरै मुलुकमा सञ्चालन भएको छ भने यसले अर्थतन्त्र विस्तारमा समेत सहयोग पु¥याएको पाइन्छ । भारत, चीनले स्टार्टअप उद्यम सञ्चालन गर्दै आएसँगै नेपालले पनि त्यसलाई अघि बढाउन खोजेको देखिन्छ । निजी क्षेत्र भने स्टार्टअप उद्यम सञ्चालन गर्ने विषयमा सकारात्मक रहेको पाइन्छ ।