काठमाडौं, साउन १
खाता भएको बैंकबाहेक अन्य बैंकको एटीएम कार्डबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था आज बिहीबारदेखि परिवर्तन हुने भएको छ । लकडाउनमा बैंकहरुले सर्वसाधारणलाई असहज नहोस् भनेर जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा पनि अतिरिक्त शुल्क नलाग्ने गरी दिएको सुविधा आजदेखि सम्बन्धित बैंकले उक्त शुल्क लिने/नलिने निर्णय आफैँले लिनसक्ने गरी परिवर्तन भएको हो ।
२७ वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर एसोसिएसन, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २१ विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर एसोसिएसन नेपाल र २२ फाइनान्स कम्पनीहरुको छाता संगठन वित्तीय संस्था संघले संयुुक्तरुपमा विज्ञप्ति जारी गर्दै निर्णयको अधिकार सम्बन्धित बैंक तथा फाइनान्स कम्पनीहरुलाई दिएको जानकारी गराएका हुन् । योसँगै अबदेखि लकडाउन अघिजस्तै बैंकहरुले आफ्नो एटीएमबाहेक अन्य बैंकको एटीएमबाट पैसा निकाल्ने ग्राहकसँग तोकिएको शुल्क लिन पाउनेछन् ।
सरकारले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि चैत ११ गतेदेखि पूर्णरुपमा लकडाउन गरेको थियो । सो समयमा मानिसहरु अत्यावश्यकबाहेक अन्य कामका लागि घरबाहिर निस्किन पनि पाउँदैनथे । त्यस्तो अवस्थामा बैंकहरुले उक्त सुविधा प्रदान गरेकामा असारदेखि लकडाउन खुुकुलो भएको र बैंक तथा वित्तीय संस्थाहरु पनि खुल्न थालेकाले उक्त निर्णय गरेको सूचनामा जनाइएको छ ।