काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । नियुक्तिसम्बन्धी सम्झौतापत्रमा मन्दाकिनी हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष शरदकुमार दाहाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मन्दिप लुईंटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार कम्पनीले १ः१.२५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद सेयर जारी गरी कम्पनीले माथिल्लो सार्दीखोला जलविद्युत् आयोजना (दुई दशमलव नौ मेगावाट) निर्माण गर्ने तथा अन्य जलविद्युत् परियोजनामा लगानी गर्ने योजना बनाएको छ । यस कम्पनीद्वारा प्रवर्द्धित सार्दीखोला जलविद्युत् आयोजना कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा रहेको र आयोजनाबाट चार मेगावाट बराबरको विद्युत् शक्ति २०७४ साल मंसिरदेखि व्यावसायिकरूपमा उत्पादन भई आयोजना पूर्णरूपमा सञ्चालनमा आएको छ । कम्पनीको अधिकृत पुँजी दुई अर्ब रुपैयाँ तथा जारी पुँजी ६४ करोड ६७ लाख रुपैयाँ रहेको छ ।