दोलखा । जिल्लाको माथिल्लो क्षेत्रमा आलु रोप्ने समय सुरु भए पनि आलुको बिउ अभाव हुँदा किसान चिन्तित बनेका छन् । आलु रोप्ने समयमा मूल्य बढेपछि किसानले सहजरूपमा बिउ पाउन नसकेको स्थानीय किसान जगत बहादुर खत्रीले बताए ।
गत वर्ष तीन मुरी आलु रोपेका उनले यस वर्ष बिउ अभावका कारण दुई मुरी मात्रै आलु रोप्ने योजना बनाएका छन् । उनले अघिल्लो साल प्रतिकेजी ६५ रुपैयाँमा उन्नत जातको आलुको बिउ किनेका थिए । तर अहिलो सो आलूको मूल्य बढेर प्रतिकेजी एक सय रुपैयाँ पुगेको छ । बिउ पाउन पनि मुस्किल रहेको र मूल्य पनि बढेपछि यस वर्ष खेती नै घटाउने सोचमा रहेकोे उनी बताउँछन् । खेती लगाउने समयमा व्यापारीहरूले अचानक आलूको मूल्यवृद्धि गरेका कारण समस्यामा परेको किसानहरूले गुनासो छ । रोप्नका लागि बारी तयार पारेर बिउको खोजी गर्दा जिल्लामै बिउ अभाव भएको अर्का स्थानीय किसान महेन्द्र खड्काले बताए । ‘गत वर्ष रोप्ने अन्तिम समय माघमा समेत बिउको मूल्य ७० रूपैयाँ पुगेको थियो तर अहिले सुरुमै बिउ मूल्य ९०÷१०० रुपैयाँ पुगेछ छ । तर पनि बिउ पाउन सकेको छैन’, उनले भने । सम्बन्धित निकायहरूले नियमन नगर्दा व्यापारीहरूले मनपरी मूल्य राखेको उनको गुनासो छ ।
किसानले चारैतिर बिउ अभाव देखिए पनि आफैँ उत्पादन गरेको स्थानीय आलुलाई बिउको रूपमा रोप्न सुरु गरेका छन् । वैतेश्वर–४ को ठूलोचौरमा १४ घरधुरी रहेका छन् । यहाँका सबै घरधुरीको मुख्य खेती नै आलु हो । यस वर्षको भदौमा यहाँबाट करिब एक करोड बराबरको आलु बिक्री भएको थियो । यहाँको करिब तीन रोपनीमा आलु खेती हुँदै आएको स्थानीय किसान कृष्ण खड्काले बताए ।
वार्षिक ७० करोड बराबरको आलु उत्पादन हुने दोलखामा यस वर्ष धेरै क्षेत्रमा बिउ अभाव भएको हुँदा खेतीसँगै उत्पादन पनि घट्ने किसानहरू बताउँछन् । आलुको उत्पादकत्व वृद्धिका लागि सबैभन्दा आवश्यक उन्नत बिउ हो तर उन्नत बिउ अभाव भएपछि पुरानै आलुलाई बिउको रूपमा लगाइएको छ । स्थानीय किसानहरूका अनुसार अन्य कुराहरू सामान्य रहे पनि बिउ मात्र उन्नत प्रयोग गर्ने हो भने उत्पादनमा २० देखि ४० प्रतिशतसम्म वृद्धि हुन्छ । मुख्यगरी जिल्लाको शैलुङ, मेलुङ, मकैबारी बोच, कालिन्चोक, गौरीशंकर खावा, जिरी, गैरिमुदी, पोखरी, ठुलचौर, ठुलोबन, फाप्लु, एवो, हावालगायतका गाउँमा अत्यधिक आलु खेती हुँदै आएको छ ।