काठमाडौं । नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सुर्य किरण’को १८ औँ संस्करण सुरु भएको छ । नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास मंगलबारदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कुलमा सुरु भएको हो ।
श्री मध्यपश्चिम पृतनाका पृतनापति उपरथी प्रेमबहादुर पुनले एक कार्यक्रमका बीच उक्त अभ्यासको शुभारम्भ गरेका थिए । नेपाली सेनाबाट प्रमुख सेनानी निराजन कटवालको नेतृत्वमा र भारतीय सेनाबाट कर्णेल जपेन्दर पाल सिंहको नेतृत्वमा छ सय ६८ जना सैनिकहरू सो अभ्यासमा सहभागी छन् । उक्त संयुक्त अभ्यास यही पुस २९ गते सम्पन्न हुने कार्यक्रम रहेको छ । यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्य किरणको सत्रौँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो । विसं २०६७ सालबाट नेपाल र भारतमा वार्षिकरूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी १७ पटक सञ्चालन भइसकेको छ ।
अभ्यासमा मुख्यतया विपद् व्यवस्थापन, प्रतिव्रिदोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोगलगायतका विषयहरूमा दुई देशका सैनिकहरूले सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवहरूको आदान प्रदान गर्नेछन् । यस किसिमको सैनिक अभ्यासले दुई देशबीच सदियौँदेखि रहँदै आएको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै दुवै देशको सेनाका सकलदर्जामा पेशागत सिपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।