काठमाडौं । मुलुकका तीन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्यामा वृद्धि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कअनुसार सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा आन्तरिकतर्फ १३ प्रतिशत र अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या सात दशमलव नौ प्रतिशतले वृद्धि भएको हो ।
प्राधिकरणको २६ औँ वार्षिकोत्सवको अवसरमा वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले तीन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म कुल ८७ लाख ६० हजार तीन सय दुईलाई हवाई यात्रुले यात्रा गरेको जानकारी दिए । सन् २०२३ को नोभेम्बरसम्म कुल ७७ लाख हवाई यात्रुले यात्रा गरेका थिए । त्यसैगरी सन् २०२४ मा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या सात दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । नोभेम्बरसम्म अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या कुल ४४ लाख ४९ हजार एकसय ३३ पुगेको हो । नेपालमा हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । कूल ५५ वटा विमानस्थलमध्ये ३५ वटा विमानस्थल आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएका छन् ।
नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या सन् २०२३ मा २९ रहेकामा हाल २०२४ मा भिस्तारा एयरलाइन्स एयर इन्डियामा मर्ज भएपश्चात् यो संख्या २८ भएको छ । नेपालबाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको छ । आन्तरिकतर्फ भने सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायुसेवामध्ये हाल क्रियाशील वायुसेवा कम्पनीहरूको संख्या १९ रहेको छ । महानिर्देशक अधिकारीले पूर्वाधार निर्माण र हवाई सुरक्षामा विशेष ध्यान दिएको बताए । उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वीकृत गुरूयोजनाबमोजिम विमानस्थलको सीमित क्षेत्रफललाई अधिकतम उपयोग गरी विमानस्थलको क्षमता अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिइएको छ । विमानस्थलको क्षमता विस्तारका लागि उत्तरतर्फ करिब १८ वटासम्म अन्तर्राष्ट्रिय वायुयान बिसान गर्न सकिने वायुयान बिसान क्षेत्र र ट्याक्सी वेको निर्माण कार्य जारी रहेको अधिकारीले जानकारी दिए ।
त्रिभुवन विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवनका आवागमन क्षेत्रहरूलगायत विमानस्थलभित्रका विभिन्न स्थानमा अत्याधुनिक विद्युतीय उपकरणहरू सञ्चालनमा ल्याइएको छ । विमानस्थलको रनवे दुईतर्फको तीन सय १५ मिटर लम्बाइमा एप्रोच बोर्ड तथा फायर एक्जिट निर्माण सम्पन्न भएको साथै ल्यान्डसाइड क्षेत्रमा करिब एक हजार चार सय वर्गमिटर क्षेत्रफलमा पार्किङ क्षेत्र विस्तार गरिएको छ । त्रिभुवन विमानस्थलमा यसै वर्ष कात्तिक २३ गतेदेखि विमानस्थलको रात्रिकालीन अपरेसन आवर कम गरी निर्माण कार्यसमेत सुरू भएको छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना आईकाओ कोड ४एफअन्तर्गत पूर्ण क्षमताको वैकल्पिक अन्तर्राष्ट्रियस्तरको विमानस्थलको गुरूयोजनासँगै फेज–१ को निर्माणका लागि डिटेल इन्जिनियरिङ डिजाइन कार्य सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।