सुबास बस्नेत
दोलखा, साउन १
लकडाउनका कारण लामो समयदेखि बन्द रहेको सार्वजनिक यातायात जिल्लाभित्र ओहोरदोहोर गर्न थालेका छन् । सरकारले छोटो दूरीका सार्वजनिक यातायात सुचारु गर्ने निर्णय गरेपछि साढे ३ महिनादेखि बन्द रहेका सार्वजनिक बस बुधबारदेखि चल्न थालेका हुन् । सदरमुकाम चरीकोटमा बुधबार करिब एक दर्जन बस बिहानदेखि नै यात्रु पर्खेर बसेका थिए । जिल्लाको तामाकोशी र मेलुङ चल्ने बसले यात्रु पाए पनि मैनापोखरी, जिरी चल्ने अरनिको बसले भने दिनभर यात्रु पर्खेर बस्दा पनि बस चढ्ने यात्रु नआएको कारण सदरमुकाममै बस थन्क्याउनु परेको बसका चालक प्रकाश तामाङले बताए ।
जिल्लाको तामाकोशी गाउँपालिकाको झुले, छौडे र हावा चल्ने केही अरनिको बसमा भने खचाखच यात्रुले बस भरिएका थिए । बुधबार सदरमुकाम चरीकोटबाट भीरकोट, हावा च्यामा, झुले छौडेका लागि तीनवटा सार्वजनिक बस छुटेका छन् । त्यसैगरी जिल्लाको मेलुङ भैसे पवटीका लागि दुईवटा बस छुटेका छन् । त्यसैगरी शैलुङको लागि एउटा बस छुटेको छ । बुधबार चलेका सीमित सार्वजनिक सवारीमा भने भौतिक दूरी कायम गरेको पाइएको छैन । सरकारले आधा यात्रु बोक्न निर्देशन दिए पनि दोलखामा चलेका बसमा लस्करै यात्रु बसेको पाइएको हो । सार्वजनिक बसको सिटमा बसेका केही यात्रुले भने सरकारले भाडा मात्र बढाएको बताए । रोल्वालिङ यातायात संघ दोलखा अध्यक्ष बालकृष्ण आचार्यले सार्वजनिक यातायातका चालकले व्यक्तिगतरूपमा निर्णय गरेर अरनिको र गौरीशंकर यातायात संघअन्तर्गतका फाट्टफुट्ट बस चले पनि रोल्वालिङको बस भने तत्काल नचल्ने जानकारी दिए ।