वासिङ्टन डिसी । अंग्रेजी नयाँ वर्ष सन् २०२५ आजदेखि सुरु भएको छ । आज विश्वभर एक–आपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाइँदैछ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष ईस्वी संवत २०२४ को बिदाई र नयाँ वर्ष सन् २०२५ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरुको आयोजना गरी मनाइँदै छ ।
न्यूजिल्यान्डको अकल्याण्डबाट सबैभन्दा पहिला नयाँ वर्षको स्वागत गरिएकोे छ । संसारको सबैभन्दा पूर्वी भागमा अवस्थित भएकोले, नयाँ वर्ष पहिलो पटक न्यूजिल्यान्डमा मनाइन्छ । त्यहाँ हजारौँ मानिसहरुले देशको सबैभन्दा अग्लो आकाश टावरमा आतिशबाजी गरे र उत्सव मनाए ।
त्यसपछि अस्ष्ट्रेलियाको सिड्नी हार्बरमा नयाँ वर्ष मनाइएको छ । सिड्नी हार्बरमा परम्परागत आतिशबाजी गर्दै नयाँ वर्षलाई स्वागत गरिएको छ । जहाँ १० लाख मानिस भेला भएका थिए । त्यहाँ १२ मिनेटसम्म लगातार आतिशबाजी भएको थियो ।
न्यूजिल्यान्डमा नयाँ वर्ष नेपालमा भन्दा पौने आठ घण्टा अगाडि आउँछ भने अमेरिकामा सवा नौ घण्टापछि नयाँ वर्ष आउँछ । विश्वभर नयाँ वर्षको सुरुवात अवधि १९ घण्टासम्म जारी रहन्छ ।
जनवरी १ मा नयाँ वर्ष किन मनाइन्छ ?
दुई हजार छ सय ३७ वर्ष पहिलो अर्थात् ६ सय ७३ ईसापूर्वमा रोममा नुमा पोम्पिलस नामका राजा थिए । उनले रोमन क्यालेन्डर परिवर्तन गरे र मार्चको सट्टा जनवरीबाट नयाँ वर्ष मनाउने निर्णय गरे । त्यसअघि रोममा नयाँ वर्ष २५ मार्चबाट सुरु हुन्थ्यो ।
पोम्पिलसले जनवरी महिना रोमन देवता जानसको नामबाट नामाकरण गरिएको र मार्च महिना युद्धहरुको देवता मंगलको नामबाट राखिएकोले नयाँ वर्ष मार्चको सट्टा जनवरीबाट सुरु गर्नुपर्ने तर्क दिएका थिए । नुमा पोम्पिलसले जारी गरेको क्यालेन्डरमा एक वर्षमा तीन सय १० दिन र १० महिना मात्र थियो । त्यतिबेला एक सातामा आठ दिन हुन्थ्यो ।
पछि रोमन साम्राज्यको उथलपुथलको फाइदा उठाउँदै रोमन सेनाका जनरल जुलियस सिजरले कमान्ड आफ्नो हातमा लिए । उनले पनि क्यालेन्डर परिवर्तन गरे । खगोलविद्हरुले जुलियस सिजरलाई पृथ्वीले सूर्यको परिक्रमा गर्न तीन सय ६५ दिन छ घन्टा लाग्ने बताए । त्यसपछि सिजरले रोमन क्यालेन्डरलाई तीन सय १० दिनबाट बढाएर तीन सय ६५ दिन पुर्याए । साथै सिजरले फेब्रुअरी महिनालाई २९ दिन बनाउने निर्णय गरे, ता कि प्रत्येक चार वर्षमा एक दिनको वृद्धि समायोजन गर्न सकियोस् । त्यसपछि अर्को वर्ष इसापूर्व ४५ देखि जनवरी १ मा नयाँ वर्ष मनाउन थालियो ।