बारा, साउन १ बाराको मटिअर्वा नाका हुँदै नेपाल भित्रिएको २५ किलो ग्राम चाँदीसहित २ जना नेपाली नागरिकलाई बारा प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको अधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले मटिअर्वा हुँदै कलैयातर्फ आउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । ना. ६१ प ७२०४ नम्बरको जिक्सर मोटरसाइकलसहित दुई जना नेपाली नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका वडा नम्बर ५ निवासी इनरदेवप्रसाद यादव र प्रसौनी गाउँपालिका वडा नम्बर ७ बस्ने वकिल अन्सारी रहेको जिप्रका बाराले जनाएको छ ।