काठमाडौँ । सत्तामा रहेकाहरूले अहिलेको सरकारका बारे सधैँ भनिरहँदै आएको एकसूत्रीय एउटा मन्त्र समृद्धिका लागि सरकार बनेको हो भन्ने रहँदै आएको छ । त्यसमा कहिलेकाहीँ स्थायित्वका लागि भन्ने पनि जोडिन्छ । अहिलेका प्रधानमन्त्रीले सधैंँ भन्ने गरेको उनी नेतृत्वको सरकार समृद्धिको लागि हो भन्ने भनाइ पनि पछिल्लो समय जनताले पत्याउन छाडेको देखिन्छ । त्यसैपनि अहिले दुईवटा ठूला दल मिलेर बनेको सरकार हो । यी दुई दल मिलुन्जेल सरकारलाई कसैले हल्लाउन सक्तैन । यस्तो यथार्थ हुँदाहुँदै प्रधानमन्त्री आफैँले सरकार ढाल्ने प्रयास भइरहेको भनेर हल्ला फैलाउन पनि छाडेका छैनन् । यी सबैका पृष्ठभूमिमा सरकारले दिनखोजेको समृद्धिको सन्देश भने तलसम्म पुग्न पाएको वा सकेको रहेनछ भन्ने बताउने केही संकेतहरू प्रकट हुन थालेका छन्, जसले आमजनताको बुझाइमा न समृद्धि आउँछ र न स्थिरता भन्ने खालको छाप परेको देखिन्छ । यता सरकारको आयु बढ्दै जाने र उता देश छाडेर विदेश लाग्नेहरूको संख्या पनि त्यहीरूपले बढ्दै जानु निश्चय नै संयोग मात्रै नहुनुपर्छ ।
गएको मंसिर महिना सरकारको पाँचौँ महिना पूरा भएको महिना हो । उल्लेख भए प्रकारको सरकारले काम गरेको यो पाँचौँ महिनामा आफ्नो जीविकोपार्जनका लागि वैदेशिक रोजगारीमा जाने युवाहरूको सँख्या सर्वाधिक देखियो । यो भनेको सरकारले समृद्धि ल्याउँछ भन्नेमा यो तहका मान्छेमा अलिकति पनि आशा र विश्वास नभएको अवस्था हो ।
केही पहिले देशभित्र आठ लाखले रोजगारीका लागि आवेदन दिएकोमा आठ सयले मात्र वर्षको ६० दिनको रोजगारी पाएको भन्ने समाचार आएको थियो । यसले मुलुकमा रोजगारीको अवस्था कस्तो रहेछ भन्ने बुझाउँछ । यही क्रममा यो नयाँ र बलियो सरकार बनेपछिका बितेका पाँच महिनामा तीन लाख २५ हजार आठ सय नौ जनाले वैदेशिक रोजगारीका लागि देश छाडेका छन् । यो संख्या वैदेशिक रोजगार विभागमा रहेको अभिलेखअनुसारको हो । गएको वर्षको यही पाँच महिनामा दुई लाख ७४ हजार पाँच सय १७ जना वैदेशिक रोजगारीमा गएका थिए । यही तथ्याङ्कमा यो सरकारले पाँच महिना पूरा गरेको मंसिर महिनामा मात्रै ८४ हजार दुई सय २६ जना वैदेशिक रोजगारीमा गएको देखियो । गत वर्षको यही मंसिरमा ६८ हजार दुई सय एक जना वैदेशिक रोजगारीमा गएका थिए । यसको अर्थ हो गत वर्षको भन्दा यसरी वैदेशिक रोजगारीमा जानेहरूको संख्या झन्झन् बढिरहेको छ । महिनागत विवरण पनि त्यस्तै देखिन्छन् । विभागले जनाए अनुसार चालु वर्षको साउनमा ५९ हजार पाँच सय ७५, भदौमा ५७ हजार चार सय ९३, असोजमा ५३ हजार पाँच सय २५, ७० हजार नौ सय ९० जनाले देश छाडेको छन । मंसिर महिनाको यस्तो रेकर्ड विगतको भन्दा बढी हो । २०७९ कात्तिकमा ७८ हजार तीन सय ७० विदेशिएको अवस्थामा अहिले त्यो रेकर्ड उछिनिएको छ ।
प्रधानमन्त्री र मन्त्रीहरूले भनेजस्तो देशमा अब समृद्धि आउँछ भन्ने आमजनतालाई लागेको भए वा उनीहरूले त्यस्तो भरोसा दिलाउन सकेको भए समृद्धिका लागि भन्दै बलियो सरकार बनेपछिका बितेका पाँच महिनामा झण्डै चार लाखले वैदेशिक रोजगारीका लागि विदेश रोज्ने थिएनन् होला । यति छोटो समयमा यति ठूलो संख्याले देश छाड्नु भनेको सामान्य कुरा होइन । यसको अर्थ हो नेताहरूले भनिरहेका समृद्धिका कुरालाई आमनागरिकले पत्याइरहेका छैनन् । यस्ता प्रतिबद्धता केवल एकतर्फी र आधारविहीन भएर पनि पत्याइन नसकिएका हुन सक्छन् । प्रधानमन्त्रीको दलले दुई दिनअघि मात्रै देश ठीक ढंगले अघि बढिरहेको भनेर निष्कर्ष निकालेको छ । तर यता एउटा कुनै सूचक अर्थात् यही वैदेशिक रोजगारीमा जाने कामलाई आधार मान्ने हो भने त्यो निष्कर्षको विपरीत परिणाम आइरहेको देखिन्छ । सरकार वास्तवमा नै जनविश्वास जित्नेतर्फ लागोस् ।