काठमाडौं । सरकारी जग्गा हडप्ने क्रमको उच्चतहमा देखिएको शेरा दरबार प्रकरणमा जसको संलग्नता देखिएको छ यो हप्ता उनैको ठूलो स्वर सुनियो । ठूलो स्वर सुनियो मात्र होइन उनै सबैभन्दा चोखा र इमान्दार देखिने प्रयास गरे । यसले भ्रष्टाचारमा ‘दूधको साक्षी बिरालो’को उखान चरितार्थ मात्र गरेन चोर भनेर कराउँदै हिँडेको भीडमा स्वयम् चोर पनि त्यसैगरी कराउँदै हिँडेर भाग्न सफल भएको अवस्थाको बोध गराउँछ । यो प्रसङ्ग हो, संघीय राजधानीको छिमेकी जिल्ला नुवाकोटको विदुर नगरपालिकास्थित ऐतिहासिक शेरा दरबार र त्यसको स्वामितवमा रहेको एक सय ८४ रोपनी चार आना एक पैसा क्षेत्रफल रहेको जग्गाको । यसमध्ये कुल जग्गाको सानो टुक्रा मात्रै बाँकी राखेर एक सय ६४ रोपनी १३ आना दुई दाम जग्गा अपचलनमा पर्न लागेको घटना । अपचलनकर्ता थिए तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सचिवालय सहयोगी । अहिले तिनै प्रचण्ड आफ्नो कार्यकालमा अनियमितता गर्ने आफन्तलाई समेत नछाडेको भनेर साखुल्ले भइरहेका छन् र त्यसलाई पत्याउन बाध्य हुनुपरेको अवस्था छ ।
यो घोटालामा तत्कालीन प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिवको संलग्नता रहेको भन्ने धेरैतिरबाट पुष्टि भइसकेको छ । आफैँ प्रधानमन्त्री भएको बेला आफ्नै स्वकीय सचिवको नाममा शेरा दरबारको जग्गा लगिएको भन्ने लिखत विवरणहरूले बताउँछन् । यस्तो विवरण सञ्चार माध्यमहरूमा पनि आइरहेका छन् । आफ्नै पालामा आफ्नै मान्छेले सरकारी जग्गा हडपेको भन्ने सबैतिर छरपस्ट भइसकेपछि र जोगिन जोगाउन मुस्किल पर्ने देखिएपछि संसद्को सुशासन समितिमा उनले भने, ‘कानुनविपरीत काम भएको छ भने तत्काल कारबाही गर्नुस् । जसरी ललिता निवासको जग्गा सरकारका नाममा फिर्ता ल्याइएको छ, त्यसरी नै शेरा दरबारको जग्गा पनि फिर्ता ल्याएमा मैले सरकारलाई धन्यवाद नै दिन्छु । मैले प्रधानमन्त्री हुँदै गर्दा विभिन्न भ्रष्टाचारसँग सम्बन्धित फाइलहरूको बारेमा छलफल गर्दै गर्दा जो–कोही पनि कानुन मिचेर या कुनै तरिकाले भ्रष्टाचारमा संलग्न देखिन्छ भने कसैलाई पनि छुट दिनु हुँदैन । राज्य र सरकारको जमिन कुनै व्यक्तिले गैरकानुनीरूपले व्यक्तिको नाममा गर्छ भने त्यो व्यक्ति जो–कोही भए पनि कानुनको दायरामा ल्याउनुपर्छ भनेको थिएँ । अहिले यही शेरा दरबारको चर्चा सुनेपछि मैले अस्ति झापाको कार्यक्रममा बोलेको पनि थिएँ । दोषीलाई कारबाही गरियोस्, सरकारलाई सहयोग गर्न तयार छौँ भनेको थिएँ । मैले अरु भन्नु केही पनि छैन । शेरा दरबारको पनि भयो भने म सरकारलाई सहयोग मात्र होइन धन्यवाद पनि भन्नेछु ।’
निवर्तमान प्रधानमन्त्रीले सरकारी जग्गा हडप्ने कामका विरुद्ध देखाएको यस्तो प्रतिबद्धता एकप्रकारले सराहनीय नै हो । तर यसभित्र लुकेको मन कस्तो छ भन्ने कुराले अर्थ राख्छ । त्यसबेला प्रधानमन्त्रीका स्वकीय सचिवले गरेको नाजायज काममा प्रधानमन्त्रीको हैसियत प्रयोग भएको थिएन भन्ने ठाउँ हुँदैन । खासगरी यतिबेला संसद्का दुई ठूला दलको सरकार बनेको छ । यो सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले विचौलियाले बनाइदिएको सरकार भनेका छन् । उनले यो सरकारका नेताहरूसँग सम्बन्धित विगतका काण्डहरूको फाइल खोलिदिने भनेर ठाउँ–ठाउँमा बताइरहँदा शेरा दरबार जग्गा घोटालाको प्रकरणले चर्चा पाएको अवस्था हो । आफ्नै कार्यकालमा अप्रत्यक्षरूपमा संलग्नता भएर शेरा दरबार जग्गा घोटाला भएको अवस्थामा उनले आफ्नो विगत भ्रष्टाचारविरुद्धमा अभियान चलाउँदैमा बितेको भनेर जसरी दाबी गरे त्यो आफैँमा शेरा दरबार हडप्नेकै ठूलो स्वरका रूपमा देखा पर्दैछ । घोटालामा आफ्नै स्वकीय सचिव मुछिएको घटनालाई ओझेलमा पार्न अरु घटनाको उदाहरण दिनु आफैँमा असल नियत भन्न सकिने हुँदैन ।