काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । २०६३ साल पुस १८ गते स्थापना भएको ग्लोबल आइएमई बैंक बिहीबारदेखि १९औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
वार्षिकोत्सवका अवसरमा बैंकको कर्पोरेट कार्यालय, कमलादीमा बिहीबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा र सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए ।
‘अहिलेको बैंकिङ आवश्यकतालाई मध्यनजर राख्दै हामीले हाम्रा सेवालाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक छ । तर, डिजिटल तथा प्रविधिमैत्री गर्दा सुरक्षाको पनि त्यत्तिकै ख्याल राख्न जरुरी हुन्छ । सुरक्षालाई न्युनतम सर्त बनाएर डिजिटल प्रविधिलाई अङ्गीकार गर्ने हो’, उनले भने ।
बैंकले आफ्नो स्थापनाको १८ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको उनले बताए । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीतिहरुको परिपालन गर्दै जाँदा बैंक अहिलेको अवस्थामा आइपुगेको बताउँदै मिहिनेत र लगनशीलताले मात्र लक्ष्य प्राप्त हुने उनले बताए । सम्पूर्ण कर्मचारीहरुको अथक मिहिनेत र लगनशिलताका कारण बैंक अहिलेको अवस्थासम्म आइपुगेको बताउँदै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंक बनाउन आफ्नोतर्फबाट पुर्याउनु भएको विशेष योगदानप्रति सबै कर्मचारीहरुलाई धन्यवाद प्रकट गरे । यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले आफ्नो सेवालाई नवीनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए ।
रेग्मीले बैंकले आगामी वर्षहरुमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
एक सय ६६ कर्मचारीलाई सम्मान
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा गरेका एक सय ६६ कर्मचारीहरुलाई सम्मान गरेको छ ।
बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका अध्यक्ष ढकालले १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरुलाई सम्मान गरेका हुन् । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरक–फरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५५ वटा शाखा कार्यालय, तीन सय ८४ वटा एटीएम, दुई सय ३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवाकेन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।