काठमाडौं । छत्रपाटी निःशुल्क चिकित्सालयले आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २०१३ साल माघ २३ गतेदेखि समुदायबाट सञ्चालन हुँदै आएको सो अस्पतालले शनिबार साधारणसभा सम्पन्न गरेको हो ।
अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठको सभापतित्वमा भएको साधारणसभामा कोषाध्यक्ष लहना श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनका अनुसार सो आवमा अस्पतालको आम्दानी १९ करोड ७३ लाख ७३ हजार ४५ रुपैयाँ र कुल खर्च १८ करोड २९ लाख ९२ हजार सात सय ७७ रुपैयाँ भएको छ । यस्तै सभाले २०८१/८२ को अनुमानित आम्दानी १४ करोड ९४ लाख रुपैयाँ र खर्च १४ करोड ८२ लाख रुपैयाँबराबरको बजेट पारित गरेको छ ।
सभाले महासचिव डा. कृष्टिना श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष लहना श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको थियो । कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता नबिन मानन्धरले चिकित्सालयको सेवा विस्तार तथा माउ बद्री भवन निर्माणको लागि काठमाडौं महानगरपालिकाको तर्फबाट सहयोग गरिँदै आएको बताए । भविष्यमा पनि सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
अध्यक्ष डा. मनोजमान श्रेष्ठले चिकित्सालयको सेवा विस्तारको क्रममा सिटी म्यामोग्राम सञ्चालनमा आइसकेको जानकारी दिए । निकट भविष्यमा सिटी स्क्यान, डायलासिस तथा क्यान्सर केयरसम्बन्धी सेवा विस्तार गर्ने उनले बताए । अस्पतालले यस वर्ष एक लाख २२ हजार नौ सय २५ जनालाई चिकित्सा सेवा प्रदान गरेको थियो । त्यसमध्ये ६० हजार ७५ जनालाई ४४ लाख ३८ हजार एक सय ४१ रुपैयाँबराबरको रकमको विशेष छुट तथा निःशुल्क उपचार सुविधा प्रदान गरिएको जनाइएको छ । साथै एक सय ११ जना बिरामीलाई ९० हजार सात सय ५४ रुपैयाँबराबरको निःशुल्क औषधी वितरण गरेको थियो । उक्त सभामा संस्थाका उपाध्यक्ष कुमारदेव मानन्धरले चिकित्सालयको बारेमा प्रकाश पारेका थिए ।
उक्त साधारणसभामा गोबिन्द क्याटरिङको तर्फबाट समाजसेवी गोविन्द महर्जनले सात लाख रुपैयाँ, समाजसेवी राधिका महर्जनले एक लाख ७० हजार रुपैयाँ र समाजसेवी रुस्का मानन्धरले एक लाख २५ हजार रुपैयाँ चन्दास्वरुप आर्थिक सहयोग गरेका थिए ।