काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले करिब १८ महिनापछि सार्वजनिक सवारीको भाडादरमा वृद्धि गरेको छ । मन्त्रालयले राष्ट्रियस्तका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीहरूको भाडादरमा वृद्धि गरेको हो ।
सार्वजनिक यातायातको नयाँ भाडादर लागू गर्ने बारेमा यातायात व्यवस्था विभागले पर्याप्त अध्ययनपछि नयाँ भाडादर कायम गरिएको बताइएको छ । विभागका महानिर्देशक राजिव पोखरेलले यातायात क्षेत्रमा भएका विभिन्न प्रकारको लगानीका कारण गर्दा भाडादर संयोजन गरिएको जानकारी दिएका छन् । सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको बजार अध्ययन तथा विश्लेषण अर्थात् यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्राककट्टी र सञ्चालन मुनाफालगायतका मुख्य सूचकहरूमा देखिएको मूल्यवृद्धिको आधारमा सार्वजनिक यातायातका सवारी भाडामा संयोजन गर्नुपरेको विभागले दाबी गरेको छ ।
भाडा संयोजन गर्नका लागि बजार अध्ययन तथा विश्लेषक र सकारोबारवाल पक्षहरूसँग परामर्श समेत गरेको उनले जानकारी दिए । विभागले भाडा संयोजनका लागि अध्ययन, विश्लेषण र छलफलपश्चात् मन्त्रालयमा पेस गरेको थियो । मन्त्रालयमा पेस भएसँगै भौतिक मन्त्री देवेन्द्र दाहालले पुस ११ गते बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै भाडा संयोजन अर्थात् भाडा वृद्धिदर अघि बढाउन लागि अधिकारी दिएका थिए ।
मन्त्री दाहालको निर्णयअनुरूप सार्वजनिक यातायातको भाडादर वृद्धि गरिएको विभागले जनाएको छ । सार्वजनिक यातायातको भाडादर वृद्धिसँगै यात्रुवाहक सवारीसाधनमा तीन दशमलव ३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा शून्य दशमलव ८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा शून्य दशमलव शून्य पाँच प्रतिशतले वृद्धि गरिएको हो । वृद्धि गरिएको भाडादर सोमबारदेखि लागू हने विभागले जनाएको छ ।
विभागका अनुसार यसअघि २०८० साउन ३१ मा सार्वजनिक यातायातको भाडादर संयोजन गरिएको थियो । उक्त समयअघि इन्धनको मूल्य घटबढ हुँदा समेत सार्वजनिक यातायातको भाडादर संयोजन नगरेको विभागले दाबी गरेको छ । विगतमा भने भाडादर निर्धारण गर्नका लागि इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचधहरूको अंश ६५ प्रतिशत मानी संयोजन गर्ने गरेकोमा भने यस पटक भने विभिन्न १३ सूचकलाई आधार मानी भाडा संयोजन गरिएको हो । जसमा सार्वजनिक यातायातमा लगानी, ब्याजदर, सञ्चालन मुनाफा, खर्चलगायतका विभिन्न सूचकहरू समावेश गरिएको हो ।
मंगलबारदेखि लागू गरिएको नयाँ भाडादरमा तराईको लामो दूरी (२५० किलोमिटरभन्दा बढी)का यात्रुवाहक बस, मिनिबसको लागि दुई रुपैयाँ ९३ रुपैयाँ कायम गरिएको छ । यसअघि तराईको लामो दूरी (२५० किलोमिटरभन्दा बढी) पक्की र ग्राभेल बाटेमा सञ्चालन हुने यात्रुवाहक बस, मिनिबसको लागि यसअघि प्रतिकिलोमिटर प्रतिव्यक्ति दुई रुपैयाँ ८४ पैसा कायम गरिएको थियो । मंगलबारदेखि लागू गरिएको नयाँ भाडादरमा २५ किलोमिटरदेखि दुई सय ५० किलोमिटरसम्मका दूरीका पक्की र ग्राभेल बाटोमा प्रतिव्यक्ति तीन रुपैयाँ २४ पैसा कायम गरिएको छ । यसअघि २५ किलोमिटरदेखि दुई सय ५० किलोमिटरसम्मका दूरीका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस मिनिबसको लागि यसअघि प्रतिकिलोमिटर प्रतिव्यक्ति दुई रुपैयाँ एक पैसा कायम गरिएको थियो । नयाँ भाडादरअनुसार सबैभन्दा बढी चार हजार रुपैयाँभन्दा बढी तोकिएको छ ।
जसमा सँगै काठमाडौं– धनगढी –सितागढी– साँफेबगरका लागि दुई हजार आठ सय ५१ रुपैयाँ, तीन हजार चार सय २१ रुपैयाँ र चार हजार एक सय पाँच रुपैयाँ तोकिएको छ । जुन आठ सय ९९ किलोमिटर रहेको छ । अन्यमा नाउडाँडा–बुटवल–काकडभिट्टाका लािग दुई हजार एक सय रुपैयाँ, दुई हजार पाँच सय २० रुपैयाँ र तीन हजार २५ रुपैयाँ तोकिएको छ । जुन सात सय २३ किलोमिटर रहेको छ । बनेपा–काठमाडौं–लेटाङका लागि एक हजार छ सय ९७ रुपैयाँ, दुई हजार ३६ रुपैयाँ र दुई हजार चार सय ४४ रुपैयाँ तोकिएको छ । जुन पाँच सय ७५ किलोमिटर रहेको छ ।
विराटनगर –तुल्सीपुर– दाङका लागि एक हजार नौ सय ५२ रुपैयाँ, दुई हजार तीन सय ४३ रुपैयाँ र दुई हजार आठ सय ११ रुपैयाँ तोकिएको छ । जुन छ सय ८८ किलोमिटर रहेको छ । जिराटनगर–महेन्द्रनगरका लागि दुई हजार चार सय २८ रुपैयाँ, दुई हजार नौ सय १४ रुपैयाँ र तीन हजार चार सय ९६ रुपैयाँ तोकिएको छ । जुन आठ सय ५४ किलोमिटर रहेको छ । भक्तपुर–काठमाडौं–इलामका लागि दुई हजार ९६ रुपैयाँ, दुई हजार पाँच सय १५ रुपैयाँ र तीन हजार १८ रुपैयाँ तोकिएको छ । जुन छ सय ७८ किलोमिटर रहेको छ । जुन तीन थरी भाडादर भने सामान्य, डिलक्स र सुपर डिलक्स सवारीसाधानका लागि हुन् ।
मालवाहक सवारीका सम्बन्धमा तराई र पहाडतर्फ यसअघि प्रतिकिलोमिटर प्रतिटन क्रमशः सात रुपैयाँ ७२ पैसा र १४ रुपैयाँ ६५ पैसा कायम गरिएकोमा तराईमा सात रुपैयाँ ७२ पैसा र पहाडमा १४ रुपैयाँ ७७ पैसाले हुन आउने रकमलाई १० टनले हिसाब गरी नयाँ भाडादर कायम गरिएको हो । जसमा थोरैमा २४ हजार चार सय ७२ रुपैयाँदेखि लिएर ५४ हजार पाँच सय ७९ रुपैयाँ र बढीमा ७१ हजार चार सय ८७ रुपैयाँ समेत कायम गरिएको छ ।
मन्त्री दाहालका अनुसार सर्वाजनिक यातायातको सवारी भाडादर वृद्धि गर्नका लागि नेपालको संविधान २०७२ को अनुसूची ५ को बुँदा नम्बर २० र अनुसुची ९ को बुँदा नम्बर १५ का आधारमा नेपाल सरकारले गरेको कार्य विस्तृतीकरण र सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ९६ उपदफा (१) बमोजिम सोही ऐनको दफा १५३ को खण्ड (घ) ले दिएको अधिकार प्रयोग गरिएको बताइएको छ ।