काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच सूचना आदानप्रदान गर्ने सम्झौता भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार एक कार्यक्रमबीच विभागका उपमहानिर्देशक विपिन राजभण्डारी र कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा एक अर्कालाई आवश्यक सूचना तथा तथ्याङ्क अनलाइनको माध्यमबाट आदानप्रदान गरी श्रमसम्बन्धी कानुनको परिपालना गर्ने उल्लेख छ । सामाजिक सुरक्षाको सुनिश्चतता गराउने उद्देश्यका साथ दुई निकायबीच सम्झौता भएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए । यस सम्भौताबाट दुवै निकायले श्रम कानुनको परिपालना, सामाजिक सुरक्षाको सुनिश्चितताको विषयमा श्रम निरीक्षण, श्रम लेखापरीक्षण तथा अनुगमनका क्रममा प्रभावकारितामा वृद्धि हुन गई श्रम कानुन परिपालना हुने विश्वास लिइएको छ ।
सम्झौतासँगै व्यवसायजन्य सुरक्षा र सामाजिक सुरक्षाको प्रत्याभूति, औपचारिकताको प्रवर्द्वन हुने, असल श्रम सम्बन्ध कायम भई उत्पादकत्व वृद्धि हुनुका साथै सुशासन प्रवर्द्धन एवं श्रम सम्बन्धमा गुणात्मक सुधार भई उद्योग व्यवसायको विकास र विस्तारमा टेवा पुग्ने मन्त्रालयले जनाएको छ । सो अवसरमा श्रम मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सम्झौताबाट श्रमिकका हकहित थप सुरक्षित, मर्यादित र व्यवस्थित गर्न सहयोग पुग्ने बताए ।