काठमाडौं । एनसेलले प्रतिष्ठित आईएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआईएमएस)को मान्यता पाउन सफल भएको छ ।
यससँगै एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआईएमएस) प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको छ । यसले ग्राहकहरूको सूचना सुरक्षा सुनिश्चित गर्ने एनसेलको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको जनाइएको छ । एनसेलको विश्वसनियता र सूचना सुरक्षालाई अझ सुदृढ बनाउँदै कम्पनीको डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेजले यी मान्यताहरू प्राप्त गरेका हुन् । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले यी विश्वव्यापी मान्यताहरू प्राप्त गर्नु कम्पनीको सूचना सुरक्षा र गोपनियता व्यवस्थापनलाई सुदृढ पार्ने निरन्तर प्रयासहरूको एक प्रमुख कोशेढुङ्गा भएको बताए । यसले एनसेल निरन्तर सुधार र उत्कृष्टताप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको, गुणस्तर र सुरक्षाप्रति सधैँ समर्पित रहेको स्पष्ट पारेको उनको दाबी थियो ।
उनका अनुसार यी मान्यताहरू ग्राहक डेटा सुरक्षा र डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेजमा गोपनियता सुनिश्चित गर्ने अभ्यासहरूमा एनसेलले उच्चतम मापदण्डहरू पूरा गरेको प्रमाण हो । यसले ग्राहकहरूलाई उनीहरूका व्यक्तिगत र संवेदनशील जानकारीहरू एनसेलले उच्च जवाफदेहीताका साथ ह्यान्डल गर्ने र डेटाहरू सुरक्षित रहने प्रत्याभूति प्रदान गर्ने उनले बताए । ग्राहक र साझेदारहरूका डाटा साइबर थ्रेट र अनधिकृत पहुँचबाट जोगाउन एनसेलले सशक्त उपायहरू कार्यान्वयन गरेको आईएसओ २७००१ मान्यताले सुनिश्चित गर्छ । त्यसैगरी, आईएसओ २७७०१ ले व्यक्तिगत डेटा सुरक्षा गर्न, उल्लङ्घनको जोखिमलाई कम गर्न र गोपनियतामा उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासको अनुपालन गरेको सुनिश्चित गरेको छ ।
आईएसओ मापदण्डहरू पालना गरेर, एनसेलले ग्राहकहरूलाई उनीहरूको डाटा अन्तर्राष्ट्रिय मापदण्ड प्रक्रिया पूरा गरेको एक सुरक्षित प्रणालीले संरक्षण गरिरहेको सुनिश्चितता प्रदान गर्छ । यी मान्यताहरूले एनसेलको पारदर्शिता र जवाफदेहीतालाई दर्शाउँछ जसले ग्राहकको विश्वास नै व्यवसाय सञ्चालनको केन्द्रविन्दु रहेको सुनिश्चित गर्छ ।