काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा कम्तीमा ११ जना मानिसहरूको ज्यान लिएको भीषण डढेलोपछि लस एन्जलसका केही भागमा रात्रिकालीन कर्फ्यू लगाइएको छ।
मङ्गलवारदेखिको भीषण डढेलोका कारण सहरबाट अनिवार्य रूपमा बाहिरिनुपर्ने आदेशका कारण डेढ लाख भन्दा धेरै मानिसहरूले घर छाडेका छन्।
प्रहरीले मानिसहरूरहित बसोबास क्षेत्रमा कुनै पनि किसिमको आपराधिक गतिविधि नगर्न चेतावनी दिएको छ।
त्यहाँबाट कम्तीमा १२ जना सन्दिग्ध लुटेराहरूलाई पक्राउ गरिएको छ।क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले केही अग्निनियन्त्रकले पानी अभाव झेलिररहेको अवस्थाको स्वतन्त्र समीक्षा गर्न आदेश दिएका छन्।विस्थापित कैयौँ मानिसहरूले घरमा अब फर्कनका लागि केही बाँकी नरहेको बताएका छन्।
आपत्कालीन सेवाहरूले आगोका ज्वालासँग जुझ्ने काममा आफूहरूले प्रगति गरिरहेको बताएका छन्।
केही ठाउँमा हावाको बेग सहज हुँदा आंशिक सफलता मिलेको उनीहरूले बताएका छन्।
१० हजार घर नष्टसहरमा यतिखेर पाँच वटा मुख्य डढेलो सक्रिय रहेको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूले मानवीय क्षतिबाहेक १० हजार भन्दा धेरै घरहरू डढेलोबाट नष्ट भएको र थप ६० हजार जोखिममा रहेको बताएका छन्।
प्रारम्भिक अनुमानहरूमा कुल क्षति १५० अर्ब अमेरिकी डलरभन्दा बढी हुनसक्ने बताइएको छ।लस एन्जलसमा एक लाखभन्दा धेरै घर तथा व्यवसायहरूमा बिजुली आपूर्ति टुटेको छ।
लस एन्जलसका अधिकारीहरूले दोस्रो पटक भूलवश पठाइएको आपत्कालीन चेतावनी 'अलर्ट'का लागि क्षमा मागेका छन्। तर त्यस्ता अलर्ट बन्द गरेर भने नबस्न सजग गराएका छन्।
'युद्धभूमि'जस्तो अवस्थाराष्ट्रपति जो बाइडनले लस एन्जलसले आफूलाई "युद्धभूमि" सम्झाएको बताउँदै मृतकको सङ्ख्या बढ्न सक्ने सम्भावना रहेको बताए। उनले यस विपद्सँग जलवायु परिवर्तनका पक्ष जोडिएको बताए।
राज्यका गभर्नर न्यूजमले राष्ट्रपति-निर्वाचित डोनल्ड ट्रम्पलाई क्षति प्रत्यक्ष हेर्नका लागि क्यालिफोर्निया आउन निम्त्याउँदै विपद्लाई "राजनीतिकरण" नगर्न आह्वान गरेका गरेका छन्।रिपब्लिकन दलबाट प्रतिनिधित्व गर्ने ट्रम्प क्यालिफोर्नियाका डेमोक्र्याटहरूले यस आपत्कालमा गरिरहेको कामलाई लिएर चर्को आलोचना गरिरहेका छन्।
लस एन्जलस सहरका मेयरले त्यहाँका मानिसहरूलाई आफूहरूप्रति भरोसा राख्न आह्वान गरेका छन्।
ब्रिटिश राजकुमार ह्यारी र उनकी पत्नी मेगन राहत केन्द्रमा पुगेर सुरुवाती उद्धारकर्ता र विस्थापित मानिसहरूलाई भेटेका छन्।
(बीबीसी)