काठमाडौं । गैरआवासीय नेपाली संघले आगामी चैत १ र २ गते दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्ने भएको छ । संघले आइतबार पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्णयानुसार थाइल्यान्डको बैंककमा सो सम्मेलन गर्न लागेको जानकारी दिएको हो ।
संघका अध्यक्ष डा बद्री केसीले विदेशमा रहेका युवा र दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई अपनत्व महसुस गराई मातृभूमिसँग जोड्न सम्मेलन गर्न लागेको जानकारी दिए । सम्मेलनले नेपाली प्रवासी युवा, पिएनओज र नेपालका स्थानीय युवाहरूबीच मजबुत साझेदारी स्थापना गर्ने, युवामा सशक्तीकरण र नवप्रवर्तनको संस्कृतिलाई प्रेरित गर्ने साझा मञ्च प्रदान गर्ने अपेक्षा राखिएको छ । सम्मेलनले नेपाली प्रवासी युवाहरू र नेपालका स्थानीय युवाहरूबीच मजबुत सम्बन्ध स्थापना गर्दै शिक्षा, रोजगारी र सामुदायिक विकासमा केन्द्रित सहकारी परियोजनाहरू निर्माण गर्न मद्दत पुर्याउने, युवा बेरोजगारी, सीप विकास र सुरक्षित आप्रवासनजस्ता महत्वपूर्ण समस्याहरू समाधान गर्न कार्यात्मक योजना प्रस्तुत गर्ने, सशक्त युवाहरूको नेटवर्क निर्माण गर्न सहयोग पुर्याउने अपेक्षा राखिएको छ ।
यसैगरी संघले आगामी चैत ३ र ४ गते कम्बोडियाको न्होम पेन्ह सिटीमा १०औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन आयोजना गर्ने भएको छ । यसपटक संघले एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनलाई ‘सङ्गम’ नामकरण गरेको छ । सो कार्यक्रममा गैरआवासीय नागरिकताको पूर्णकार्यान्वयन, पिएनओजका माग, लगानी, पर्यटन, विदेशमा बस्ने नेपाली विज्ञहरूको राष्ट्र निर्माणमा भूमिका, सामाजिक रूपान्तरणको लागि महिला सशक्तीकरण एवं लैङ्गिक समानता, सम्मानजनक वैदेशिक रोजगारी तथा सामाजिक सुरक्षा कोषमा प्रभावकारी आबद्धता, प्रवासबाट मताधिकारजस्ता महत्वपूर्ण विषयमा छलफल हुनेछ ।
दुवै सम्मेलनमा नेपालसहित एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिहरू, युरोप, अमेरिका, ओसियाना, अफ्रिका तथा मध्यपूर्वका देशहरूबाट समेत गरी करिब तीन सय प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।